सहकारीमा नाफाभन्दा विश्वास ठूलो हो –ईन्द्र घिमिरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

सहकारीमा नाफाभन्दा विश्वास ठूलो हो –ईन्द्र घिमिरे



पछिल्लो समय सहकारी क्षेत्र कस्तो अवस्थामा छ ?

पछिल्ला केही वर्षदेखि नेपालमा सहकारी क्षेत्र आर्थिक, सामाजिक र राजनीतिक बहसको केन्द्रमा छ। लामो समयसम्म केही संस्थाले सदस्यको बचत गलत प्रयोग गरेका, नियामक संरचना अपर्याप्त भएका कारण समस्या बढेका छन्। कोभिडको प्रभावले सदस्यको व्यवसायमा असर पुग्दा ऋण असुली चुनौती थपियो।

तर हाल राज्य र नियामक निकायहरू सक्रिय छन्। संसदीय छानबिन, सहकारी नियमन प्राधिकरण र सहकारी ऋण असुली न्यायाधिकरण जस्ता पहलहरूले सहकारी क्षेत्रलाई सही मार्गमा अघि बढाउने आशा जगाउँछन्।

हाम्रो साकोसको वर्तमान वित्तीय अवस्था कस्तो छ ?

उत्तर: हाम्रो सहकारीको स्थापना २०५५ साल फागुन १३ गते भएको हो। हाल ७३०१ सदस्य, १३.६२ करोड शेयर रकम, १६.१५ करोड संस्थागत पूँजी, १३३ करोड बचत, ११९ करोड ऋण लगानी र १७८ करोड कुल सम्पत्ति छ। २०७८ सालदेखि हामी एक्सेस कार्यक्रम अन्तर्गत प्राविधिक सुधार गर्दै आर्थिक स्थिति बलियो बनाउँदै अघि बढिरहेका छौं। हालसम्म ४ सहकारी एकीकृत भइसकेको छ र यस वर्ष थप २ संस्थाको एकीकरण स्वीकृतिमा छ।

ऋण असुलीको अवस्था कस्तो छ ?

सबै सहकारी संस्थामा ऋण असुली चुनौतीपूर्ण छ। तर हाल हाम्रो संस्थामा गैर-संवाहनीय ऋण क्रमशः सुधार हुँदैछ। हामी असुली बढाउने र जोखिम व्यवस्थापनलाई सँगै अगाडि बढाउँदैछौं। यस वर्षको लक्ष्य गैर-संवाहनीय ऋणलाई ५% भन्दा कम राख्नु हो।

सहकारी प्रति आम मानिसको विश्वास कमजोर हुनुको कारण के हो ?

उत्तर: सहकारी क्षेत्रमा केही समस्या देखिएका छन्, तर राजनीति र अनावश्यक प्रचारले वास्तविक कामहरू ओझेलमा परेका छन्। केही संस्थाको दुरव्यवहार पुरा क्षेत्रमा फैलिएको भ्रम सिर्जना गरेको छ। हामी पारदर्शिता, नियामकीय पालन र असल अभ्यासमार्फत सदस्य र समुदायको विश्वास फेरि जित्ने लक्ष्यमा छौं।

सहकारी असफल भएको हो?

सबै सहकारी असफल भने छैनन्। सदस्य हितमा काम गर्ने संस्थाहरू सफल हुन्छन्। असफलताका कारणहरू आन्तरिक र बाह्य दुवै हुन सक्छन्—जस्तै सक्षम जनशक्तिको अभाव, उद्देश्य अनुसारको काम नगर्नु, धेरै उद्देश्य र भ्रम। सहकारीले आफ्नो मूल उद्देश्य—सदस्यको बचत र ऋण व्यवस्थापन—मा ध्यान दिनुपर्छ।

सहकारीमा भएको पुँजीलाई उत्पादनमा लगानी गर्नु उपयुक्त हो कि होइन?

उत्पादनमा जोड्न सकिन्छ, तर सदस्यको पूँजी मात्रै लगानी गर्नु पर्छ। बचत र ऋण सहकारीको मुख्य काम सदस्यलाई पूँजी उपलब्ध गराउनु हो, आफैं उत्पादन व्यवसाय गर्नु होइन।

लार्ज स्केलमा सहकारी व्यवसायको सम्भावना कस्तो छ?

नेपालमा धेरै मानिस सहकारीमा आवद्ध छन्। लार्ज स्केल सहकारी व्यवसायले सेवा नपाएका बजारमा पहुँच विस्तार गर्न, रोजगार सिर्जना गर्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्छ। तर दिगो पूँजी व्यवस्थापन, सञ्चालन जोखिम, निजी क्षेत्रसँग प्रतिस्पर्धा र कानुनी चुनौती सामना गर्न सक्ने क्षमता आवश्यक छ।

प्रकाशित : 7 September, 2025 2:44 pm