शोरुम उद्घाटन अघि बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

शोरुम उद्घाटन अघि बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण



बुटवल – नेपालमा इलेक्ट्रिक सवारीसाधनप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको सन्दर्भमा, प्रोटोन नेपालले बुटवलमा शो–रुम उद्घाटन हुनु अघि नै आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट ग्राहकलाई हस्तान्तरण गरेको छ।

बुटवल–भैरहवा क्षेत्रमा संचालन हुने यो नयाँ शो–रुम बालाजी ई अटोमोबाइल्ससँगको साझेदारीमा सञ्चालन हुनेछ। शो–रुम उद्घाटन अघि नै भएको यस सामूहिक हस्तान्तरण कार्यक्रमले प्रोटोन इमास ७ को लोकप्रियता र ब्रान्डप्रतिको विश्वासलाई झल्काउँछ।

यसअघि पोखरामा पनि यस्तै सामूहिक हस्तान्तरण सम्पन्न भइसकेको थियो, जसले काठमाडौं बाहिरका ग्राहकहरूबीच प्रोटोनको प्रविधि र सेवाप्रतिको विश्वास बढिरहेको स्पष्ट संकेत गरेको छ।

कार्यक्रममा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेटवालले भने, “शो–रुम उद्घाटन हुनु अघि नै बुटवलका १० परिवारले आफ्नो प्रोटोन इमास ७ घर लैजान पाउनु हाम्रो लागि गौरवको विषय हो। यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहक प्राथमिकता नीतिप्रतिको विश्वासलाई प्रमाणित गर्छ।”

प्रोटोनले ग्राहकमैत्री योजनासहित बजारमा प्रवेश गरेको छ, जसमा ०% ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी, र भरपर्दो सेवा सञ्जाल उपलब्ध छन्। यसले नेपाली परिवारका लागि इलेक्ट्रिक भेहिकल स्वामित्वलाई अझ सजिलो र किफायती बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

प्रोटोन इमास ७, चीनको अग्रणी ईभी निर्माता जीली (Geely) सँगको संयोजनमा बनेको एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो। यसमा आधुनिक डिजाइन, स्मार्ट सुविधाहरू, र उच्चस्तरीय सुरक्षा संयोजन गरिएको छ, जसले नेपालका ईभी पारखीहरूको मन जितिरहेको छ। यस सामूहिक हस्तान्तरणसँगै प्रोटोनले नेपालभर आफ्नो सञ्जाल विस्तार गर्दै जाने जनाएको छ।

प्रकाशित : 7 September, 2025 1:53 pm