ज्याेतिपुञ्ज साकाेसकाे साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्याेतिपुञ्ज साकाेसकाे साधारण सभा सम्पन्न



काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा भदौ २१ गते शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभा आसनग्रहण, अतिथि मन्तव्यजस्ता औपचारिक कार्यक्रम नगरी सीधै एजेण्डामा छलफल भएको थियो ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, प्रस्तावित बजेट तथा कार्यक्रम, लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण, विनियम संशोधन, आन्तरिक नीति तथा कार्यविधि लगायत १२ वटा एजेण्डा उपर छलफल गरी पारित गरेको छ ।

सभामा संस्थाका अध्यक्ष श्रेष्ठले सहकारीका सिद्धान्त र मूल्य अनुरुप संस्थाले सदस्यहरुको सामाजिक, आर्थिक, साँस्कृतिक र पर्यावरणीय विकासलाई प्राथमिकताको अग्रभागमा राखेर नीति, कार्यक्रम र उत्पादन सेवाहरु विकास गर्दै आएको कारण ज्योतिपुञ्ज सहकारी सबल र सफल सहकारीहरू मध्ये एक उदाहरणीय संस्थाको रुपमा स्थापित भएको बताए । संस्थालाई व्यवस्थित, पारदर्शी, चुस्त र दुरूस्त राख्न सुशासनका नमुना अभ्यासहरूको प्रयोग भएको समेत बताए ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२ / ८३ को लागि प्रस्तावित नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०८१ / ८२ मा २ करोड ७२ लाख रुपैयाँ मुनाफा गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ३७ करोड पुगेको छ भने जगेडा कोषमा १२ करोड ४४ लाख रुपैयाँ रहेको छ । २०८१ / ८२ को मुनाफबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश बाड्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ।

चालु आर्थिक वर्षमा सेयर पुँजी ९ करोड ५ लाखबाट बढाएर ९ करोड ५५ लाख पुर्याउने लक्ष्य संस्थाले राखेको छ । त्यस्तै बचत १ अर्ब ४ करोडबाट बढाएर १ अर्ब १५ लाख, लगानी १ अर्ब १ करोडबाट बढाएर १ अर्ब १६ करोड र जगेडा तथा कोषहरु १४ करोड ७३ लाखबाट बढाएर १५ करोड ८५ लाख पुर्याउने लक्ष्य लिईएको छ।

प्रकाशित : 7 September, 2025 12:32 pm