बीमा कम्पनीको लगानी सीमा बढाइयो, नयाँ निर्देशिका २०८२ जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा कम्पनीको लगानी सीमा बढाइयो, नयाँ निर्देशिका २०८२ जारी



काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गर्दै बीमा कम्पनीहरुको लगानी दायरामा परिवर्तन गरेको छ। अब जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरुले आफ्नो पोर्टफोलियो अनुसार अलग–अलग कोष व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशिकाअनुसार बीमा कम्पनीहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकका वचतपत्र र ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । यसअघि यो सीमा २५ प्रतिशत थियो। ‘क’ वर्गका बैंक तथा पूर्वाधार विकास बैंकमा ३० प्रतिशत, ‘ख’ वर्गमा १५ प्रतिशत र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा ७ प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था कायम छ।

धितोपत्र बजारमा लगानी बढाउने बाटो पनि खुला गरिएको छ। सूचीकृत कम्पनीको साधारण शेयरमा लगानी दायरालाई १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याइएको छ। तर, कुनै पनि कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी शेयरमा लगानी गर्न नपाइने नियम तोकिएको छ।

साथै बीमा कम्पनीहरुले नागरिक लगानी कोष र म्युचुअल फन्डमा बढीमा ५ प्रतिशत र घर जग्गा व्यवसायमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था निर्देशिकामा राखिएको छ।

प्रकाशित : 3 September, 2025 2:00 pm