नेपाल बीमा प्राधिकरणद्वारा बीमकको विदेशी मुद्रा सटही सिफारिस निर्देशिका जारी, के–के भयो संशोधन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल बीमा प्राधिकरणद्वारा बीमकको विदेशी मुद्रा सटही सिफारिस निर्देशिका जारी, के–के भयो संशोधन ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । प्राधिकरणले पुनर्बीमा शुल्क, रेट्रोशेसन, विदेशबाट ल्याइने परामर्श सेवाको भुक्तानीजस्ता कार्य पारदर्शी र व्यवस्थित बनाउन निर्देशिका ल्याएको हो ।

बीमा ऐन, २०७९ को दफा १६६ अनुसार जारी गरिएको यस निर्देशिकाअनुसार, बीमा कम्पनीले विदेशी बीमक, पुनर्बीमक, वा नेपालमा रहेका विदेशी लगानीकर्ता वा विदेशी सेवाप्रदायक संस्थालाई रकम भुक्तानी गर्दा अनिवार्य रूपमा बीमा प्राधिकरणको सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ।

निर्देशिकामा यसबाहेक उल्लेख छ कि बीमकले विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून र नेपाल राष्ट्र बैंकका निर्देशिकाको समेत पालना गर्नुपर्नेछ। साथै, सिफारिस माग्दा भारतको हकमा भारतीय मुद्रा र अन्य मुलुकका हकमा त्यस मुलुकको प्रचलित स्वदेशी मुद्रा वा परिवर्तनीय अमेरिकी डलरमा मात्रै भुक्तानीको सिफारिस माग गर्नुपर्नेछ।

पुनर्बीमा शुल्क सम्बन्धी सटही सिफारिसको लागि बीमकले जोखिमको हिस्सा बाहेकको बाँकी जोखिम र त्यसको विवरण, स्वघोषणा सहित प्राधिकरणमा पेश गर्नुपर्नेछ। कर, सेवा शुल्क, पुनर्बीमा कमिशन वा छुट कट्टा गरी भुक्तानीको खुद रकम नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंकरवित्तीय संस्था मार्फत विप्रेषण हुने गरी सिफारिस माग गर्नुपर्ने व्यवस्था गरिएको छ।

रेटीङ्ग प्राप्त पुनर्बीमा वा रेट्रोसेसनको सटही माग गर्दा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिकामा सूचीबद्ध विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही रेटिङ्ग प्राप्त पुनर्बीमकका लागि मात्र सिफारिस दिने व्यवस्था गरिएको छ। तथापि, बीमकको पुनर्बीमा निर्देशिका, २०८० लागू हुनु अघि भएका सम्झौताका भुक्तानीमा यसले कुनै बाधा नपर्नेछ।

निर्देशिकाअनुसार, विदेशी मुद्रा सटही सिफारिसको लागि बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य छ। साथै, यस सम्बन्धमा पेश गरिएका कागजात र स्वीकृति पत्रहरू कार्य सम्पन्न भएको मितिबाट कम्तीमा ५ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ।

के–के भयो संशोधन ?

प्रकाशित : 3 September, 2025 1:50 pm