काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर छुटको माग गर्नुभन्दा व्यवसाय प्रवद्र्धनका ठोस प्रस्तावसहित आउन व्यवसायीहरूलाई सुझाव दिएका छन्। आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले राज्यलाई धान्न आवश्यक साधारण खर्चमै दबाब हुने अवस्था रहेकोले अन्धाधुन्ध कर छुट गर्न नसकिने स्पष्ट पारे।
उनका अनुसार कर छुट दिंदै जाने हो भने राज्य सञ्चालन नै असम्भव हुने खतरा रहन्छ। उनले भने, “ट्याक्स छुट गरेर राज्य कसरी चलाउने ? साधारण खर्चसम्म धान्न गाह्रो भएको अवस्थामा निरन्तर छुट दिने अभ्यासले राजस्व सकट अझै बढाउँछ। त्यसैले छुट होइन, व्यवसाय प्रवद्र्धनका लागि ठोस प्रस्ताव ल्याउनुहोस्। सरकार ती प्रस्ताव सम्बोधन गर्न आतुर छ।”
यस अवसरमा उनले वर्तमान सरकारले राजनीतिक स्थिरता सुनिश्चित गरिसकेको दाबी पनि गरे। उनका अनुसार ठूला दुई दलको सहकार्यमा बनेको सरकारले स्थायित्व कायम गरेको छ र यो सहकार्य ०८४ को निर्वाचनसम्म निरन्तर रहनेछ। “अहिलेको संसदीय अंकगणितमा यो भन्दा बलियो र स्थिर सरकार अर्को बन्न सक्दैन,” अर्थमन्त्री पौडेलले भने।
पर्यटन प्रवद्र्धनबारे बोल्दै उनले सरकारले बजेट, नीति तथा कार्यक्रममार्फत महत्वपूर्ण कदम अघि सारेको उल्लेख गरे। पर्यटन क्षेत्रलाई उकास्न आवश्यक सबै प्रयास गर्ने प्रतिवद्धता जनाउँदै उनले व्यवसायीलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आह्वान गरे।





Comment