काठमाडौं । भीमेश्वर नगरपालिका–६, चरिकोट, दोलखास्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ३३औँ वर्षमा प्रवेश गरेको छ । सहकारीको स्थापना २०५० साल भदौ ७ गते भए पनि मंसिर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको थियो । स्थापना दिवस भदौ ७ गतेकै दिन मनाइँदै आएको छ ।
११ वटा सहकारी एकीकृत गरेर स्थापना भएको यस सहकारीले पछिल्ला वर्षहरूमा सदस्य केन्द्रित सेवा, सुशासनयुक्त कार्यशैली र प्रविधियुक्त सेवामार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । हाल यस सहकारीमा २२ हजार ९२४ जना शेयर सदस्य रहेका छन् ।
२०८२ साउन मसान्तसम्म सहकारीको कुल सम्पत्ति १ अर्ब ४० करोड ६७ लाख रुपैयाँ, सेयर पुँजी ६ करोड ७७ लाख रुपैयाँ, जगेडा कोष ९ करोड १० लाख रुपैयाँ, बचत संकलन १ अर्ब १२ करोड रुपैयाँ र ९७ करोड ४९ लाख रुपैयाँ लगानी रहेको छ ।
संस्थाले मोबाइल बैंकिङ, क्यूआर कोड र एटीएम सुविधा उपलब्ध गराउँदै आएको छ भने वित्तीय साक्षरता, नेतृत्व विकास, शिक्षा र स्वास्थ्य सम्बन्धी कार्यक्रममार्फत सामुदायिक विकासमा पनि योगदान दिँदै आएको छ ।
उत्कृष्ट सहकारी सम्मान, संस्थापक अध्यक्ष सम्मान, उत्कृष्ट व्यवस्थापक सम्मानसहित विभिन्न राष्ट्रिय तथा प्रादेशिक तहका सम्मान प्राप्त गर्न सफल भएको सहकारीले आगामी दिनमा पनि सदस्य केन्द्रित सेवा र दिगो सहकारी अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ ।





Comment