काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको भविष्यलाई अझ सशक्त बनाउँदै प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले संयुक्त रूपमा पहिलो पटक मलेसियामै विकास गरिएको इलेक्ट्रिक कार प्रोटोन इमास ७ को ऐतिहासिक शुभारम्भ गरेका छन्।
नोभेम्बर २०१८ बाट प्रारम्भ भएको दुवै कम्पनीबीचको सहकार्यले प्रोटोनको विश्वव्यापी पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ। नेपाललाई प्रोटोनले रणनीतिक बजारको रूपमा लिएको छ । जहाँ जगदम्बा मोटर्स यसको आधिकारिक वितरक रहँदै आएको छ।
काठमाडौंमा आयोजित शुभारम्भ समारोहमा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत डा. ली चुनरोङ र प्रोटोन इन्टरनेशनल कर्पोरेशन एसडीएन बिएचडीका सीईओ एडमन्ड लिम मेङ थोङ उपस्थित थिए। उनीहरूले नेपालमा ब्रान्डको दीर्घकालीन प्रतिबद्धता दोहोर्याउँदै जगदम्बा मोटर्ससँगको सहकार्यलाई महत्वपूर्ण मोडका रूपमा व्याख्या गरे।
१४ वर्षभन्दा बढी अटोमोबाइल व्यवसायिक अनुभवसहित, जगदम्बा मोटर्सले प्रोटोन ब्रान्डलाई नेपालमा सफल बनाउन उल्लेखनीय योगदान दिँदै आएको छ। कम्पनीले २०२५ को अन्त्यसम्म १२ शोरूम र सर्भिस सेन्टर सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ, जसमा ३ वटा पहिले नै सञ्चालनमा छन्। साथै, विश्वस्तरीय बिक्रीपछिको सेवा, असली स्पेयर पार्ट्स, प्रमाणित प्राविधिक र उन्नत डायग्नोस्टिक उपकरणमार्फत ग्राहकलाई भरपर्दो सेवा उपलब्ध गराइने बताइएको छ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “प्रोटोनसँग हाम्रो सहकार्य केवल वितरण साझेदारी मात्र होइन, नेपाललाई दिगो यातायाततर्फ अघि बढाउने साझा दृष्टिकोण पनि हो। प्रोटोन इमास ७ र हाम्रो सेवा नेटवर्कको विस्तारले नेपाली ग्राहकलाई अझ सस्तो, भरपर्दो र आकर्षक इलेक्ट्रिक सवारी उपलब्ध गराउनेछ।”
प्रोटोन इमास ७ ले मलेसियामा पहिले नै उल्लेखनीय सफलता पाइसकेको छ।
– मलेसियामा नम्बर १ इभी मोडेल (जुलाई २०२५ को अन्त्यसम्म)।
– सी सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने इभी एसयूभी ।
– मलेसियाली बजारमा समग्र रूपमा सबैभन्दा बढी बिक्री हुने इभी ।
यस शुभारम्भसँगै, प्रोटोन र जगदम्बा मोटर्सले नेपालमा हरित गतिशीलता (Green Mobility) अभियानलाई गति दिने, विद्युतीय सवारी प्रवर्द्धन गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिने लक्ष्य राखेका छन्।





Comment