काठमाडौं । नाडा अटो शो २०२५ मा चिनियाँ अटो निर्माता जिनपेङले आफ्नो नयाँ मिनी विद्युतीय कार ‘लिङवक्स EC01’ प्रदर्शन गर्ने भएको छ। नेपालमा जिनपेङका लागि आधिकारिक वितरकको रूपमा कार्यरत ठाकुर मोटर्स नेपाल प्रालिले यो मोडेल सार्वजनिक गर्ने तयारी गरेको हो।
दुई भेरिएन्ट, फरक ब्याट्री र रेन्ज
लिङवक्स EC01 दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुने जनाइएको छ— सिटी र प्रिमियम।
सिटी भेरिएन्टमा १९.२६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले करिब २४० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ।
प्रिमियम भेरिएन्टमा भने ३१.४५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ, जसको रेन्ज करिब ३४० किलोमिटर रहेको छ।
दुवै भेरिएन्टले डीसी फास्ट चार्जिङ सुविधा सपोर्ट गर्छन्, जसले कम समयमा ब्याट्री चार्ज गर्न सकिने सुविधा प्रदान गर्छ।
नेपालमा यसको मूल्य सिटी भेरिएन्टका लागि रु. १९ लाख ९९ हजार र प्रिमियम भेरिएन्टका लागि रु. २४ लाख ९९ हजार निर्धारण गरिएको छ। यसरी २० लाखभन्दा कम मूल्यमा उपलब्ध सिटी भेरिएन्टलाई नेपालमा उपलब्ध सस्तो इलेक्ट्रिक सिटी कारमध्ये एक मान्न सकिन्छ।
डिजाइन र प्रविधि
सवारीमा ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले अधिकतम १०५ एनएम टर्क उत्पादन गर्छ। यसले प्रतिघन्टा १०५ किलोमिटरसम्मको उच्चतम गति लिन सक्छ।
ग्राउन्ड क्लिरियन्स २०० एमएम रहेको यो कारमा ४ जनाले आरामपूर्वक यात्रा गर्न सक्ने सुविधा छ। आकारका हिसाबले लम्बाइ ३५८४ एमएम, चौडाइ १४७५ एमएम, उचाइ १६१५ एमएम र ह्विलबेस २४५५ एमएम रहेको छ, जसले सहरमा सजिलै चलाउन मिल्ने ‘कम्प्याक्ट साइज’ प्रदान गर्दछ।
फिचरका हिसाबले, यसमा १०.१ इन्चको टचस्क्रिन कनेक्टिभिटी सिस्टम जडान गरिएको छ, जसले यात्रालाई थप स्मार्ट र इन्टेरटेनिङ बनाउँछ। सुरक्षाका लागि एड्भान्स ब्रेकिङ सिस्टम र इन्टेलिजेन्ट कोलिजन डिटेक्सन जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएका छन्। यी फिचरले सवारीलाई सुरक्षित मात्र होइन, उपयोगकर्तामैत्री पनि बनाउँछन्।
कम्पनीको विश्वासिलो इतिहास
जिनपेङ चीनको एक प्रतिष्ठित र पुरानो अटो निर्माता हो। कम्पनीले केवल इलेक्ट्रिक कार मात्र नभई इलेक्ट्रिक रिक्सा, ट्राइसाइकल र मोटरसाइकल समेत उत्पादन गर्दै विश्व बजारमा आपूर्ति गर्दै आएको छ।
सन् २००४ मा स्थापना भएको यो कम्पनीले छोटो समयमा विश्वव्यापी स्तरमा राम्रो सफलता हासिल गरेको छ। अहिले यसका उत्पादनहरू प्रयोग गर्ने प्रयोगकर्ताको संख्या करिब १ करोड १५ लाख पुगेको छ। चीनमै कम्पनीका १४ वटा उत्पादन केन्द्र रहेका छन्।
जिनपेङले आफ्नो उत्पादनलाई बजारमा पठाउनु अघि विभिन्न चरणमा परीक्षण गर्ने गर्दछ। कम्पनीको भनाइअनुसार, हरेक सवारीसाधनलाई पर्फमेन्स टेस्ट, वाटरप्रुफ टेस्ट र ट्रायल ड्राइभिङ टेस्ट पार गराइएपछि मात्र ग्राहकलाई उपलब्ध गराइन्छ। यसले उत्पादनलाई दीर्घकालीन र भरपर्दो बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ।
नेपालको सन्दर्भमा
नेपालमा बिस्तारै विद्युतीय सवारीसाधनप्रति चासो बढिरहेको छ। इन्धन मूल्य वृद्धिले उपभोक्ता इलेक्ट्रिक सवारीतर्फ आकर्षित भइरहेका बेला जिनपेङले ल्याएको लिङवक्स EC01 जस्तो किफायती इलेक्ट्रिक कार नेपाली बजारका लागि उपयुक्त विकल्प बन्नसक्ने देखिन्छ।
छोटो दूरीका दैनिक यात्राका लागि उपयुक्त, सस्तो मूल्य, स्मार्ट फिचर र आरामदायी यात्राको सुविधा भएको यो कारले नेपालको शहरी बजारलाई लक्षित गरेको अनुमान गरिएको छ।
नाडा अटो शो २०२५ मा प्रदर्शनीमा आउने जिनपेङ लिङवक्स EC01 नेपाली बजारमा नयाँ र किफायती विकल्पका रूपमा प्रस्तुत हुनेछ। छोटो आकार, राम्रो रेन्ज, प्रतिस्पर्धी मूल्य र स्मार्ट फिचरका कारण यो कार नेपाली ग्राहकबीच लोकप्रिय हुने अपेक्षा राखिएको छ।





Comment