७ अर्बको खराब ऋण ३ अर्बमा झारेको नेफ्स्कूनको उपलब्धि मन्त्रीद्वारा प्रशंसा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

७ अर्बको खराब ऋण ३ अर्बमा झारेको नेफ्स्कूनको उपलब्धि मन्त्रीद्वारा प्रशंसा



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले सहकारी अभियानलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न आवश्यक भएको बताए । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक प्रमुख खम्बा बनाउन ऐन संशोधनसम्म गर्न सरकार तयार रहेको उनले प्रष्ट पारे ।

मन्त्री अधिकारीले सहकारी आधारभूत जनतालाई वित्तीय पहुँच दिलाउने, आयआर्जन बढाउने र आर्थिक समृद्धिमा योगदान गर्ने महत्वपूर्ण संयन्त्र भएको उल्लेख गरे । “सहकारीकर्मीको मागअनुसार राष्ट्र बैंकलाई नियमनका लागि ल्याइएको हो,” उनले भने, “राष्ट्र बैंकको विधि अनुसार नियमन गर्दा सहकारीको सिद्धान्त विपरीत भयो भन्नु उचित हुँदैन ।”

उनले राष्ट्र बैंक र सहकारी ऐनबीचको तालमेलमा देखिएका समस्या क्रमशः सुधार हुँदै जाने र आवश्यक परे अझ कडाइ गर्ने चेतावनी दिए । विगतमा सहकारी अभियानका मागहरूलाई राज्यले सम्बोधन गरेको भए पनि अझ केही चुनौती बाँकी रहेको उनले जनाए ।

सहकारीलाई सुधार गर्दा कठोर बन्नुपर्ने र प्रक्रियामा असहजता आउन सक्ने उल्लेख गर्दै मन्त्री अधिकारीले सहकारी ऐन, नियम र विधिअनुसार सञ्चालन भएमा कुनै समस्या नआउने स्पष्ट पारे । संघ–संस्थामा थुप्रिएको गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनमा सरकार सहयोग गर्ने पनि उनले बताए ।

कमजोर सहकारी खारेज र मर्ज आवश्यक

मन्त्री अधिकारीले दर्ता मात्र भएर काम नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिए । सहकारीलाई बचाउनका लागि नभई काम गर्नका लागि मात्र मर्ज (विलय) गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले कमजोर संस्थालाई व्यवस्थित गरी बलियो बनाउनुपर्नेमा जोड दिए ।

भूगोल र जनसंख्याको आधारमा मात्र सहकारी दर्ता गर्नुपर्ने र एक ठाउँमा बसोबास गरेर अर्को ठाउँमा संस्था खोल्ने प्रवृत्तिका कारण समस्या बढेको पनि उनले उल्लेख गरे ।

नेफ्स्कूनको उपलब्धि प्रशंसा

नेफ्स्कूनले विगतमा ७ अर्ब बराबरको खराब ऋणलाई ३ अर्बमा झारेको उपलब्धिको मन्त्री अधिकारीले प्रशंसा गरे । उनले भने, “गरेपछि हुनेरहेछ । अर्को वर्षको वार्षिकोत्सवमा गैर-बैंकिङ सम्पत्ति बिक्री गरिसकेका छौं, खराब कर्जा शून्यमा झार्यौं, संघ बलियो भएर चलायमान भएको छ भन्ने परिणाम देखाउनुस् । मन्त्रालय र सम्बन्धित निकाय पूर्ण सहयोग गर्न तयार छन् ।”

प्रकाशित : 16 August, 2025 9:53 pm