नेपाल बैंकर्स एसोसिएसन र भिसा बीच साइबर सुरक्षा क्षमता अभिवृद्धिका लागि सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकर्स एसोसिएसन र भिसा बीच साइबर सुरक्षा क्षमता अभिवृद्धिका लागि सहकार्य



काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र विश्वव्यापी डिजिटल भुक्तानी प्रदायक कम्पनी भिसाबीच साइबर सुरक्षा सचेतना र क्षमता अभिवृद्धिमा केन्द्रित सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी उक्त सहकार्यमा सम्झौता भएको जानकारी दिएकाे हो ।

सम्झौता अनुसार नेपालका सबै प्रदेशमा साइबर सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाएको छ। यसमार्फत वित्तीय क्षेत्रमा सुरक्षा प्रवर्द्धन र डिजिटल भुक्तानी प्रणालीलाई अझ सबल बनाउन मद्दत पुग्ने एनबीएले जनाएको छ।

एनबीए र भिसा बीचको साझेदारीले विगतमा पनि नेपालमा डिजिटल भुक्तानीको विकासमा भूमिका खेलेको छ। यसपटकको सहकार्यमा विशेष गरी प्रादेशिक स्तरका कार्यक्रमहरू, सम्बन्धित निकायका सरोकारवालासँग अन्तरक्रिया तथा बैंकका अधिकारी र भिसा प्रतिनिधिबीच सीधा संवाद हुने बताइएको छ।

त्यस्तै प्रादेशिक गतिविधिहरूलाई सुदृढ बनाउन विभिन्न नियामक निकाय, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि र सरोकारवालाहरूलाई सहभागी गराइने व्यापक कार्यक्रम पनि आयोजना गरिने जनाएको छ।

एनबीए र भिसाले यो रणनीतिक सहकार्यबाट नेपालमा भुक्तानी प्रणालीको सुदृढीकरण मात्र होइन, साइबर सुरक्षामा जनचेतना अभिवृद्धि र अन्तर्राष्ट्रिय अनुभवबाट सिकाइमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : 14 August, 2025 6:34 pm