याडिया ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक स्कुटर नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

याडिया ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक स्कुटर नेपाली बजारमा



काठमाडौं । याडिया ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरू अब नेपाली बजारमा सार्वजनिक भएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’को अवसरमा याडियाले ‘भेलाक्स सिरिज’का तीन नयाँ मोडल नेपाली बजारमा भित्र्याएको हो । याडियाका लागि नेपालमा आधिकारिक वितरक कुजु नेपाल प्रालिले स्कुटर सिरिज सार्वजनिक गरेको हो ।

‘भेलाक्स फास्ट चार्जिङ’, ‘भेलाक्स यु’ र ‘भेलाक्स एच’ नामका ती मोडलहरू आ–आफ्नै विशेषता बोकेका छन् ।

भेलाक्स फास्ट चार्जिङ मोडल व्यस्त जीवनशैली अपनाउनेहरूका लागि लक्षित गरिएको छ । ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्रीसहितको यो स्कुटरले ११० किमी सम्म रेन्ज दिन सक्छ । यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । ३२०० वाटको मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क यसमा उपलब्ध छन् ।

भेलाक्स यु मोडल डुअल ७४ भोल्ट २० एएच ब्याट्री प्रणालीमा आधारित छ र एक पटकको चार्जमा १४० किमी रेन्ज प्रदान गर्छ । यो मोडलमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क रहेको कम्पनीले जनाएको छ ।

भेलाक्स एच मोडल दैनिक प्रयोगकर्तालाई ध्यानमा राखी सुलभ मूल्यमा डिजाइन गरिएको हो। यसमा ७२ भोल्ट ३० एएच ब्याट्री, १०० किमी रेन्ज, ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा गति र १७२ एनएम टर्क प्रदान गर्ने क्षमता रहेको छ। ‘एचु’ को अर्थ ‘हाई परफमेन्स’ रहेको कम्पनीको भनाइ छ ।

तीनै मोडलमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट, स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, यूएसबी चार्जिङ पोर्ट, एलईडी लाइट र फुल्ली डिजिटल ड्यासबोर्डजस्ता अत्याधुनिक फिचरहरू समावेश छन् ।

भेलाक्स सिरिजको मूल्य २ लाख ८५ हजार रुपैयाँदेखि सुरु हुन्छ । स्कुटरहरूमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी पनि प्रदान गरिनेछ । देशभर रहेका १२ भन्दा बढी आधिकारिक डिलरमार्फत टेस्ट राइड, प्रि–बुकिङ र फाइनान्सिङ सुविधा उपलब्ध गराइसकिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : 8 August, 2025 7:22 pm