साउन १ गतेदेखि आस्बा अनिवार्य, शेयर निष्काशन भएको २० दिनमै बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साउन १ गतेदेखि आस्बा अनिवार्य, शेयर निष्काशन भएको २० दिनमै बाँडफाँट



काठमाडौं २९ वैशाख  । नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्बा प्रणाली अनिवार्य गर्ने निर्णय गरिएको छ । उक्त प्रणाली लागूसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँट प्रक्रिया २० दिन सम्ममा सम्पन्न हुने बोर्डले जनाएको छ । जुन हालको भन्दा ५० दिन चाँडो हुनेका साथै थप सरल, व्यवस्थित र पारदर्शी हुने बोर्डको विश्वास रहेको छ ।

यो निर्णय लागू गर्न बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्यहरुलाई आफ्नो मुख्य कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरुलाई तालिम प्रदान गर्न बोर्डले आग्रह गरेको छ । साथै आस्बा सेवा प्रदान सम्वन्धमा बोर्डबाट स्थलगत निरीक्षण कार्य भैरहेको र सो क्रममा कुनै त्रुटी भेटिएमा त्यस्ता आस्बा सदस्यहरुको अनुमति खारेज गरिने वा सो सेवा प्रदान गर्न रोेक लगाइने जनाएको छ ।

आस्बा प्रणालीमा हालसम्म सम्पूर्ण वाणिज्य बैंकहरु सहित ५२ बैंक तथा वित्तीय संस्थाहरु सहभागी भई ७५ जिल्लाबाटै सेवा प्रदान गर्न थालिसकेका छन् । यस प्रणालीमार्फत हालसम्म ७ वटा संगठित संस्थाहरुको सार्वजनिक निष्काशन भैसकेकोमा पछिल्लो थप सार्वजनिक निष्काशनमा करीब ६४ प्रतिशतभन्दा बढी दरखास्त रकम आस्वा प्रणाली मार्फत प्राप्त भई यो प्रणालीको कार्यान्वयनमा गतिशीलता आएको छ । आस्बा प्रणालीमा सहभागी केही बैंक तथा वित्तीय संस्थाहरुले अनलाइनमार्फत समेत दरखास्त लिने व्यवस्था गर्न शुरु गरिसकेका छन् ।

हाल आस्बा प्रणालीमा प्रतिदरखास्त बढीमा १०० रुपैयाँ सम्ममात्र शुल्क लिन सक्ने व्यवस्था गरेको छ ।

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार ०७:२५