ईभीको बाढी काठमाडौंमा, नाइमा मोबिलिटी एक्सपो आजदेखि सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

ईभीको बाढी काठमाडौंमा, नाइमा मोबिलिटी एक्सपो आजदेखि सुरु



काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ सुरु भएको छ। पाँच दिनसम्म सञ्चालन हुने यस एक्सपोलाई सवारी साधन क्षेत्रको ‘कुम्भ मेला’ मानिएको छ। एक्सपो साउन २५ गतेसम्म जारी रहनेछ।

यस वर्षको एक्सपोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड सहभागी भएका छन्। विशेषगरी विद्युतीय सवारी साधन (ईभी) यस पटकको मुख्य आकर्षण मानिएको छ। विभिन्न ब्रान्डहरूले नाइमा एक्सपोका लागि नयाँ मोडल सार्वजनिक गरिसकेका छन्।

नाइमा नेपालका अनुसार प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे तथा ५ वटा कमर्सियल सवारी साधन सार्वजनिक हुनेछन्।

सहभागी ब्रान्डहरू:
प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, हुन्डाई, किया, निसान, मित्सुबिशी, फक्सवागन, जिकरलगायत ब्रान्ड सहभागी छन्। दुई पाङ्ग्रेमा बजाज, होन्डा, केटीएम, रोयल इनफिल्ड, टीभीएस, सुजुकी, एथर, याडिया लगायतका ब्रान्ड सहभागी छन् भने कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, हाउजी, किङलङ र सनलङ ब्रान्डले उपस्थिति जनाएका छन्।

मेलामा नयाँ सवारी साधनसँगै अन्तरक्रियात्मक तथा जानकारीमूलक कार्यक्रम पनि आयोजना गरिने नाइमा नेपालले जनाएको छ। टिकट खरिद सुविधा खल्ती बाई आईएमईमार्फत उपलब्ध रहेको छ।

यसअघि अटोमोबाइल व्यवसायीहरूको साझा संगठन नाडा अटोमोबाइल्स एसोसिएसनले नाडा अटो शो गर्दै आएकोमा यस पटक नयाँ संगठन ‘नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा)’ गठन भएपछि यो पहिलोपटक स्वतन्त्र रूपमा मोबिलिटी एक्सपो आयोजना गरिएको हो।

प्रकाशित : 6 August, 2025 8:33 am