काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा केही व्यक्तिका गल्तीका कारण यस क्षेत्रलाई नै बदनाम बनाइएको बताएका छन्।
सोमबार राष्ट्रिय सहकारी बैंकको २३औं स्थापना दिवसको अवसरमा आयोजित “सहकारीमा नियामकीय मापदण्ड तथा सम्पत्ति शुद्धिकरण निवारण” विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, “सहकारीमा केही साथीहरूले गल्ती गरेकै कारण यो क्षेत्रले बदमासीको ट्याग बोक्नु पर्यो। अब त केही व्यक्तिहरूले देशमै सहकारी नचाहिने भन्ने कुरा गर्न थालेका छन्।”
मन्त्री अधिकारीले पछिल्ला दिनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिकाबारे प्रश्न उठिरहेको उल्लेख गर्दै सहकारी नियमनका विषयमा राष्ट्र बैंकसँग पनि पूर्ण समन्वय नहुँदा चुनौती देखिएको बताए। उनले विगतमा सहकारीहरूले नियमपालना नगरेको र नियामक निकायले पनि प्रभावकारी ढंगले काम गर्न नसकेको बताए।
कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले विगतमा सहकारी नियामक निकायको माग गरेका केही अभियन्ताहरू अहिले आफ्नो माग गलत भएको स्वीकार गर्दै पछुतो व्यक्त गर्न थालेको बताए। उनले भने, “अब पुरानै ढर्राबाट सहकारी चलाउन सकिँदैन, सहकारी आफ्नो उद्देश्य र सिद्धान्तअनुसार नै सञ्चालन हुनुपर्छ। अहिले सहकारी क्षेत्रमा ठूलो प्रकोप छ, यसलाई व्यवस्थित गर्नु जरुरी छ।”
उनले सहकारी दर्ता प्रक्रिया सहज बनाउनका लागि सफ्टवेयर विकास भइरहेको जानकारी पनि दिए।





Comment