काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले स्थापना दिवसको अवसरमा १४ विधाका पुरस्कार र सम्मान घोषणा गरेको छ । संघले आज आयोजना गरेको पाँचौं बार्षिकोत्सव तथा छैटौं स्थापना दिवस कार्यक्रममा उक्त पुरस्कार र सम्मान घोषणा गरेको हो ।
संघले उक्त पुरस्कार तथा सम्मान संघको आगामी बार्षिक साधारण सभामा बितरण गर्ने जनाएको छ । संघको बार्षिक साधारण सभा मंसिरमा हुनेछ । पुरस्कार तथा सम्मानको घोषण संघका सचिव तथा सम्मान छनोट समितिका सदस्य ठाकुर बास्कोटाले गरेका थिए ।
संघले राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई उत्कृष्ट सहकारी अभियान्ताबाट सम्मान गर्ने भएको छ । त्यसैगरी उत्कृष्ट जिल्ला बचत संघमा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून), प्रदेश उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थामा जनमुखी साकोस दोलखा घोषणा भएको छ ।
त्यसैगरी बचत तथा ऋण सहकारी संस्था – महिला) तर्फ लक्ष्मी महिला साकोस पनौती र पूर्व सञ्चालक सम्मान तेजेन्द्र बहादुर खड्का चितवन घोषणा भएको छ । त्यसैगरी उत्कृष्ट पदाधिकारी एंव सञ्चालक सम्मान बुडोल सामुदायिक साकोस काभ्रेका अध्यक्ष कैलाश केसी रहेका छन् भने, प्रदेश उत्कृष्ट व्यवस्थापक पुरुषतर्फ ग्रामिण साकोस चितवनका सिताराम सिलवाल र महिलातर्फ जागरण साकोस मकवानपुरकी मेनुका दाहाल रहेकी छन् । त्यसैगरी यो वर्षको पत्रकारिता पुरस्कार मदानी विट काभ्रेका प्रकाशक मोतीराम तिमल्सिनालाई प्रदान गर्ने भएको छ ।
संघको उत्कृष्ट कर्मचारीमा व्यवसाय सहायक रामकृष्ण दुलाल, उत्कृष्ट सेवा उपयोग सम्मान नेचुरल साकोस काठमाडौं र उत्कृष्ट बचतकर्ता सम्मान दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ घोषणा भएको छ । उत्कृष्ट लगानीकर्ता सम्मान बिन्धवासिनी साकोस काभ्रे र एकीकरण गर्ने संस्थामा बज्रबाराही बचत तथा ऋण सहकारी संस्था मकवानपुरलाई प्रदान गरिने भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल रहेकी थिइन् ।





Comment