राष्ट्रिय सहकारी बैंकको वार्षिक समीक्षा गोष्ठी सम्पन्न, आगामी वर्षलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकको वार्षिक समीक्षा गोष्ठी सम्पन्न, आगामी वर्षलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता



काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समीक्षा तथा आगामी योजना सम्बन्धी गोष्ठी सोमबार सम्पन्न भएको छ। धुलिखेलस्थित एक होटलमा तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा बैंकले आर्थिक वर्ष २०८१/८२ को समग्र समीक्षा गर्दै चालू आर्थिक वर्षका योजनाहरूलाई अझ प्रभावकारी र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले अघिल्लो वर्ष बैंकका वित्तीय सूचकहरूमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै, चालू वर्षलाई थप मजबुत बनाउने रणनीति प्रस्तुत गरे। उनले शाखाहरूलाई थप प्रभावकारी बनाउने, सदस्य सहकारी संघ संस्थाहरूको आवश्यकताअनुसार सेवा विस्तार गर्ने र वित्तीय तथा गैर-वित्तीय सेवाहरूलाई अझ परिस्कृत बनाउने योजनाबारे जानकारी दिए।

गोष्ठीमा सहकारी संघ संस्थाहरूको संस्थागत विकास, जिल्ला तथा प्रदेशस्तरीय संघहरूसँग समन्वय, कर्जाको सदुपयोग अनुगमन, व्यवसाय योजना परामर्श, र सरकारी तहसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने योजनाहरूबारे विस्तृत छलफल भएको थियो।

समापन सत्रमा अध्यक्ष महेन्द्रकुमार गिरीले बैंकको सेवा थप प्रभावकारी बनाउन सबै कर्मचारीहरूलाई इमान्दारीपूर्वक कार्यक्षेत्रमा सक्रिय रहन आग्रह गरे उनले बैंकलाई पूर्ण व्यवसायिक बनाउने प्रयोजनले नवीन सुधारका प्रयासहरू भइरहेको उल्लेख गर्दै सहकारीको डिजिटाइजेसन प्रवर्द्धन तथा प्रविधिमैत्री सेवा विस्तारका लागि जोड दिए।

कार्यक्रममा बैंकका सञ्चालकहरू अमृता शुब्बा, पार्वती थापा मगर, विश्वनाथ मण्डल, विजया धिताल र ध्रुवराज विष्ट लगायतले पनि सहकारी बैंकका कार्यक्रमहरू सहकारी क्षेत्रको दीगो विकासका लागि प्रभावकारी माध्यम बनेको बताए।

बैंकको सदस्य सेवा महाशाखा प्रमुख रामबाबु आचार्यले सञ्चालन गरेको कार्यक्रममा विभिन्न प्रदेश प्रमुखहरूले आर्थिक वर्ष २०८१/८२ को कार्यसमीक्षा, लक्ष्य, पूँजी पर्याप्तता, कर्जा असुली, जोखिम व्यवस्थापन, नयाँ कर्जा उत्पादन, डिजिटल सेवा, र आगामी कार्ययोजनाबारे विस्तृत प्रस्तुति दिएका थिए।

प्रकाशित : 29 July, 2025 4:56 pm