मेरो गलत नियत भेट्टाएमा झुण्डाएर फासी दिए हुन्छः घिसिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेरो गलत नियत भेट्टाएमा झुण्डाएर फासी दिए हुन्छः घिसिङ



काठमाडाै २६ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लिड बल्ब खरिद प्रकरणमा आफुले कुनै गलत नियत राखेको पुष्टी भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । ‘मैले सुधारको लागि लिड बल्ब खरिद प्रक्रिया अघि बढाएको हो,’ सो सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘यदि कसैले यसमा मेरो गलत नियत भेट्टाएमा झुण्डाएर फासी दिए हुन्छ ।’ साथै, आफ्नो कुनै गलत प्रमाण भेटिएमा देशमै नबस्ने समेत उनको उद्घोष थियो । हिउँदको समयमा विद्युत व्यवस्थापन गर्न कठिन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्नका लागि पनि तत्काल लिड बल्बको आवश्यकता भएको उनको तर्क थियो ।

विद्युत माग र आपूर्तिलाई सन्तुलित बनाउन अल्पकालिन कार्ययोजना बनाउनुपर्ने बाध्यता रहेको र त्यसलाई व्यवस्थापन गर्न लिड बल्ब खरिद गर्न लागेको उनले जानकारी दिए । ‘यदि मैलाई भ्रष्टाचार गर्नुथियो भने काम नै नगरी २/४ घण्टा लोडसेडिङ गरेर बसेको भए हुन्थ्यो,’ उनले भने, ‘देश र जनताकै लागि सुधारका काम गर्दा म माथी यत्रो आरोप ?’ देशका ३५ लाख ग्राहक समक्ष लिड बल्ब पुर्याउन तत्कालका लागि २ अर्ब रुपैयाँ बरावरको खरिद लागेको र उक्त बल्ब प्रयोगमा आएसँगै २ सय मेगावाट बिजुली बचत हुने उनको तर्क थियो ।

पछिल्लो समयमा बल्ब खरिदको विषयमा नकारात्मक हल्ला आएको भन्दै त्यस विषयमा आफुले जस्तोसुकै सामना गर्न तयार रहेको स्पष्ट पारे । ‘हामीले सार्बजनिक खरिद ऐन अनुरुप नै तत्काल बल्ब ल्याउनका लागि दुई देशबीचको सरकारबीच सम्झौता गरेर बल्ब किन्ने निर्णय गरेका छौं,’ उनले भने, ‘दुई देशको सरकारबीच सम्झौता गरेर खरिद गर्दा कसरी भ्रष्टाचार हुन्छ त्यो मलाई थाहा भएन ।’ आफ्नो मुख्य उद्देश्य जतालाई उज्यालो दिने रहेको बताउँदै सो कार्यका लागि सधै कटिबद्ध भएर काम गर्ने समेत उनले बताए । भारतको सरकारी स्वामित्वको इनर्जी एफिसेन्सी सर्भिस लिमिटेड (इइएएल)ले उस्को वास्तविक मूल्य प्रतिगोटा ६५ भारतीय रुपैयाँमा उपलब्ध गराउने निर्णय भएको र सो मूल्यमा कुनै तलमाथी नहुने समेत उनको तर्क थियो ।

प्रकाशित : 9 May, 2017 12:20 pm