काठमाडौं । नेपालको बैंकिङ क्षेत्रले पछिल्ला वर्षहरूमा डिजिटलाइजेसनमा उल्लेखनीय फड्को मारेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमा आधारित सेवा विस्तारलाई तीव्रता दिँदै आएका छन्। त्यसको परिणामस्वरूप हाल बैंकिङ प्रणालीको ८० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट सम्पन्न हुने गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा बैंक तथा वित्तीय संस्थामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७४ लाख ६४ हजार ९९६ पुगेको छ । यो संख्या गत आवको सोही अवधिसम्मको तुलनामा १२.७३ प्रतिशत बढी हो ।
गत आवको ११ महिनासम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४३ लाख ६३ हजार ७७६ रहेको थियो ।राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा मात्रै यस्तो संख्या २ करोड ३५ लाख ४८ हजार ७२२, विकास बैंकहरुमा ३६ लाख २६ हजार २११ र फाइनान्स कम्पनीहरुमा २ लाख ९० हजार ६३ रहेका छन् ।
मोबाइल बैंकिङसँगै यता इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सख्या पनि गत आवको तुलनामा ३६.९७ प्रतिशतले बढेको छ। चालु आवको ११ महिनासम्ममा यस्तो संख्या २६ लाख ६५ हजार १४३ पुगेको छ । गत आवको सोही अवधिसम्म यस्तो संख्या १९ लाख ४५ हजार ७३६ रहेको थियो ।
यता बैंक तथा वित्तीय संस्थाहरुमा डेबिट कार्ड लिनेको संख्या ५।१४ प्रतिशतले बढेको छ । चालु आवको जेठ मसान्तसम्म यस्तो कार्ड लिनेको संख्या १ करोड ३५ लाख ९२ हजार १४ पुगेको छ । गत वर्ष भने यस्तो संख्या १ करोड २९ लाख २७ हजार ८५० रहेको थियो ।
साथै क्रेडिट कार्ड लिनेको संख्या पनि ९।३७ प्रतिशतले बढेको छ । गत आवको जेठ मसान्तसम्म यस्तो कार्ड लिनेको संख्या २ लाख ८७ हजार ५२२ रहेकोमा चालु आवको यस अवधिसम्म ३ लाख १४ हजार ४५३ पुगेको छ ।





Comment