बीमा व्यवसायमा नवीकरण र म्यादी बीमाशुल्कलाई प्राथमिकता दिन प्राधिकरणको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा व्यवसायमा नवीकरण र म्यादी बीमाशुल्कलाई प्राथमिकता दिन प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमा तथा लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि व्यवसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्क मात्र नभई नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ।

प्राधिकरणले हालै सबै जीवन बीमा तथा लघुजीवन बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै, मातहतका कर्मचारी, शाखा तथा उपशाखा, प्रादेशिक कार्यालय र सम्बन्धित विभागहरूका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक व्यवसायिक लक्ष्य तय गर्दा नवीकरण र म्यादी बीमाशुल्कलाई समेत स्पष्ट रूपमा लक्षित गर्नुपर्ने उल्लेख गरेको छ।

प्राधिकरणले बीमकहरूले व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिँदै आएका गुनासा आएको जनाउँदै, यस्तो प्रवृत्तिले न्यून आय भएका वर्गहरूसम्म बीमा सेवा विस्तारमा अवरोध पुगेको स्पष्ट पारेको छ।

बीमा कम्पनीहरू ठूलो रकमको बीमाशुल्क संकलनमा केन्द्रित हुँदा सर्वसाधारणसम्म बीमा सेवा पुग्न नसकेको, बीमालेखहरू बीमा अवधि नपुग्दै समर्पण हुने वा व्यतित हुने समस्याहरू देखिएको र यसले गुणस्तरीय तथा भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती थपेको भन्दै, यस्ता समस्यालाई सम्बोधन गर्न निर्देशन जारी गरिएको प्राधिकरणले उल्लेख गरेको छ।

नवीकरण बीमाशुल्कको सुनिश्चितता र म्यादी बीमा योजनाको समावेशीकरणले दीर्घकालीन बीमा सेवा तथा बीमक र बीमित दुवैको हित सुरक्षित गर्ने प्राधिकरणको विश्वास छ। बीमा व्यवसाय केवल उच्च रकमको बीमाशुल्क संकलनमा सीमित हुनुहुँदैन भन्ने सन्देश दिंदै प्राधिकरणले सबै बीमकहरूलाई सेवा विस्तार, गुणस्तर वृद्धि र बीमितको हितका लागि उत्तरदायी रहन आग्रह गरेको छ।

प्रकाशित : 14 July, 2025 2:15 pm