दरम खोला हाइड्रो इनर्जीको आईपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दरम खोला हाइड्रो इनर्जीको आईपीओ निष्काशन



काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि (असार ९ गते) आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले एक अर्ब तीन करोड पाँच लाख रुपैयाँको जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यस अन्तर्गत, १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित गुल्मी जिल्ला (मुसीकोट नगरपालिका), बाग्लुङ जिल्ला (गल्कोट नगरपालिका) र बडीगाड गाउँपालिका बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।

त्यस्तै, दुई लाख ९१ हजार ९५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। ५८ हजार ३९० कित्ता कर्मचारीहरूका लागि र एक लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदनको अन्तिम म्याद छिटोमा असार २३ गते र ढिलोमा साउन ६ गतेसम्म हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार २३ गतेभित्र आवेदन दिनुपर्नेछ।

स्थानीय बासिन्दाहरूले ग्लोबल आइएमई बैंक (वामी शाखा), लक्ष्मी सनराइज बैंक (गल्कोट शाखा), प्रभु बैंक (गल्कोट शाखा) र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : 23 June, 2025 11:21 am