नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुमोदन गर्दै १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिएको छ।

सभामा अध्यक्ष सिंहले समिक्षा वर्ष २०८०/८१ मा देशको समग्र अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै कोभिड महामारीको दीर्घकालीन प्रभाव, भू-राजनीतिक अस्थिरता, प्रतिकूल मौसम तथा आपूर्ति श्रृंखलामा उत्पन्न अवरोधका कारण वस्तु तथा सेवाको मागमा गिरावट आएको बताइन्। यद्यपि बाह्य आर्थिक सूचकहरू सकारात्मक रहेको र निकट भविष्यमा आन्तरिक अर्थतन्त्रमा सुधारको अपेक्षा गरिएको उनले जनाइन्।

कम्पनीले उक्त वर्षमा २१.९० प्रतिशत वृद्धि सहित कुल बीमाशुल्क २०४९.१२ करोड आर्जन गरेको छ। सोही वर्षमा १३६८.१८ करोड खूद थप रकम बीमा करार दायित्वमा सारिएको र कुल बीमा करार दायित्व २१.७० प्रतिशतले वृद्धि भई ७९६०.१८ करोड पुगेको छ।

यस अवधिमा कम्पनीले विभिन्न बीमा दावी शीर्षकमा ८३२.८२ करोडको दावी भुक्तानी गरेको छ। साथै, कम्पनीको कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई ७०१५.४६ करोड पुगेको छ। लगानी प्रतिफल दर ९.१७ प्रतिशत कायम रहँदा कम्पनी दीर्घकालीन स्थायित्व ल्याउनेतर्फ केन्द्रित रहेको जनाएको छ।

कम्पनीले दीर्घकालीन रणनीतिअनुसार आफ्नै स्वामित्वको जग्गामा व्यावसायिक भवन निर्माणलाई प्राथमिकता दिँदै आएको छ। यसै क्रममा नेपालगञ्जस्थित भवन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ भने ईटहरी शाखाको लागि समेत नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको छ। प्रविधिमा यथासम्भव लगानी गरिनुका साथै कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गर्दै कम्पनी मानव संसाधन सशक्तिकरणमा केन्द्रित रहेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत खूद नाफाको १ प्रतिशत रकम छुट्याउँदै विशेषगरी स्वास्थ्य र शिक्षामा योगदान दिँदै आएको छ। समिक्षा वर्षमा बाल स्वास्थ्य उपचार परियोजनाको लागि एक संस्थालाई २५ लाख आर्थिक सहयोग गरिएको छ।

सभा द्वारा आर्थिक वर्ष २०८०/८१ का लागि १० प्रतिशत नगद लाभांश ५२.१२ करोड० र ५ प्रतिशत बोनस शेयर (रु २६.०६ करोड) वितरणको प्रस्ताव पारित गरिएको छ। उक्त लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४.११ करोड छुट्याइएको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी ५.४७ अर्ब पुगेको छ।

नयाँ संचालकहरूको चयन

३७औं वार्षिक साधारण सभाबाट संस्थापक समूह तर्फबाट प्रेमा राज्य लक्ष्मी सिंह, रथी पवन बहादुर पाँडे (अ.प्रा) र कुशल मल्ली तथा सर्वसाधारण समूह तर्फबाट कुलदीप शरण सिंह र भवानी राणा संचालकमा निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्ष सिंहले आगामी दिनमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई एक अग्रणी बीमकको रूपमा स्थापित गर्दै आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्न अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित : 19 June, 2025 5:38 pm