काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघका वरिष्ठ उपाध्यक्ष तथा वन कभर प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले नेपालमा सूचना प्रविधि विशेषगरी सफ्टवेयर उद्योगको दीर्घकालीन विकासका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेकाे बताएका छन् । बुधबार अर्थबजार डटकमको नवौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिने, बैंक ऋणको पहुँच सजिलो बनाउने, स्टार्टअपलाई स्थायित्व प्रदान गर्ने, नवीन प्रविधिमा लगानी बढाउने र डेटा सेन्टर तथा क्लाउड सेवाको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
‘हामीले करोडौं रुपैयाँ खर्चेर उत्कृष्ट सफ्टवेयर विकास गरिरहेका छौं, तर सरकारी निकायहरू अझै पनि विदेशी सफ्टवेयरमा निर्भर छन्,’ उनले भने, ‘यो मानसिकता परिवर्तन गर्न आवश्यक छ र स्वदेशी सफ्टवेयरलाई बजेटमै समेटी प्रयोगमा ल्याउनुपर्ने बेला आएको छ।’
सफ्टवेयर कम्पनीहरूको प्रमुख समस्या बैंक ऋणमा पहुँच रहेको भन्दै उनले सफ्टवेयरको मूल्याङ्कनलाई आधार मानेर बैंकहरूबाट ऋण प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए। साथै, स्टार्टअपहरूलाई कर छुट, नीति स्पष्टता, प्रक्रियागत सहजता, अनुदान र इन्क्युवेसन सहयोगको आवश्यकता पनि जोड दिए।
विश्वमा एआई, साइबर सेक्युरिटी, डेटा प्रोटेक्सन र ब्लकचेन जस्ता नवीन प्रविधिमा लगानी भइरहेको सन्दर्भमा नेपालले पनि सोही बाटो समात्नुपर्ने भन्दै उनले अनुसन्धान तथा विकासमा सरकारी लगानीको माग गरे।
डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको मेरुदण्ड बन्न सक्नेमा उनले जाेड दिए । ´यी सबै पक्षमा ध्यान दिँदा मात्र नेपाल सूचना प्रविधिमा आत्मनिर्भर र समृद्ध बन्न सक्छ उनले भने।´ सम्बद्ध सरकारी निकायहरूलाई यस्ता विषयहरूमा गम्भीर भएर नीति निर्माण तथा कार्यान्वयन गर्न अधिकारीले आग्रह गरे।





Comment