काठमाडाौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले दुई अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले पाँच अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेर २८ लाख ३ हजार रुपैंयामा झरेको छ भने कम्पनीको रिजर्भको आकार ७२ अर्ब ७० करोड रुपैयाँबराबर रहेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको कुल आम्दानीमा समेत कमी आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २८ अर्ब ४३ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८.८९ प्रतिशतले कम हो । अघिल्लो आवमा भने कम्पनीले ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १९ रुपैयाँ ९६ पैसा घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ।





Comment