अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने



काठमाडौं । स्वास्थ्य बिमा सेवा अब सेवाग्राहीले आफ्नै स्थायी ठेगाना वा बसोबास गरिरहेको स्थानबाट नै लिन सक्ने व्यवस्था गरिएको छ । बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै यो नयाँ व्यवस्था लागू हुने भएको हो ।

नियमावली संशोधनसँगै अब स्वास्थ्य बिमा सेवा उपयोग गर्न सेवाग्राहीले आफ्नो जिल्ला वा स्थानान्तरण आवश्यक नपर्ने भएको छ । यसअघि सेवा लिन बिमा गरिएको स्थानमा जानुपर्ने बाध्यता हटाइएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि देशभरका बिमित नागरिकले सजिलै सेवा लिन सक्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयले दिएको जानकारी अनुसार, अब बिमा गरेपछि सेवा उपभोग गर्न तीन महिनासम्म कुर्नुपर्ने व्यवस्था पनि हटाइएको छ । नयाँ नियमावली अनुसार एक महिनाभित्रमै बिमा सेवाको सुविधा प्राप्त गर्न सकिने छ ।

नियमावलीमा गरिएको यो परिवर्तनले विशेष गरी ग्रामीण तथा टाढाटाढा क्षेत्रका बिमितहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ । लामो समयदेखि बिमा सेवा उपयोगमा देखा परेको असहजता हटाउने उद्देश्यले सरकारले यो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अब बिमा सेवा अझ सरल, सर्वसुलभ र पहुँचयोग्य बनाउनेतर्फ सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको छ । सेवा प्रवाह प्रभावकारी बनाउन प्राविधिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा समेत जोड दिइने बताइएको छ ।

स्वास्थ्य क्षेत्रमा सरकारको प्रतिबद्धता अझ प्रस्ट भएको भन्दै बिमा सेवा सुधारले राष्ट्रिय स्वास्थ्य सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : 1 May, 2025 12:12 pm