यी हुन ‘प्रोवेसन ब्रान्ड’ प्राप्त गर्ने सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी हुन ‘प्रोवेसन ब्रान्ड’ प्राप्त गर्ने सहकारी



यो बर्ष तीन वटा बचत तथा ऋण सहकारी संस्थाले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड प्राप्त गरेका छन् ।

ब्राण्ड पाउने संस्थाहरुमा सल्यानको ग्रामीण साकोस, ललितपुरको ठेचो महिला जागरण र चितवनको लोककल्याणकारी साकोस रहेका छन् ।

आर्थिक वर्ष २०८०÷८१ को प्रोवेशन अन्तिम परिक्षणमा सहभागी ३ साकोसहरु नेफ्स्कूनले प्रदान गर्ने नेपाल सरकार सहकारी विभागको मान्यता प्राप्त प्रोवेशन ब्राण्ड पाउन सफल भएका हुन् ।

नेफ्स्कूनको बुटवलमा शुक्रबारबाट सुरु भएको ३३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा तीनवटै साकोसलाई प्रावेसन ब्राण्डको प्रतीक (प्ल्याक) प्रदान गरिएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायतले तीनवटै साकोसका प्रतिनिधिहरुलाई संयुक्त रुपमा ब्राण्डको प्रतीक प्रदान गरेका हुन्।

तीनवटै साकोसले विगतमा प्रोवेसन ब्राण्ड प्राप्त गरिसकेका छन् । ग्रामीण साकोसले यसअघि ७ पटक तथा ठेचो महिला साकोस र लोककल्याणकारी साकोसले २/२ पटक राष्ट्रियस्तरको ब्राण्ड पाइसकेका छन् ।

२४ सय बढी सदस्य रहेको सल्यानको ग्रामीण साकोसमा हाल ३० करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी करिब ११ प्रतिशत छ । त्यसैगरी, ठेचो महिला जागरणमा ३ हजार बढी सदस्य छन्, १६ करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी सात प्रतिशत बढी छ भने साढे ७ प्रतिशत बढी संस्थागत पुँजी रहेको लोककल्याणकारी साकोसमा १८५० सदस्य छन् भने ३७ करोड बढी कुल सम्पत्ति छ ।

नेफ्स्कूनले २०६९ सालबाट प्रोवेशन कार्यक्रम सुरु गरेको हो । नेफ्स्कूनले उद्योग विभागबाट प्रोवेशन ट्रेडमार्कको दर्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।

प्रकाशित : ५ पुष २०८१, शुक्रबार १३:२५