यो बर्ष तीन वटा बचत तथा ऋण सहकारी संस्थाले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड प्राप्त गरेका छन् ।
ब्राण्ड पाउने संस्थाहरुमा सल्यानको ग्रामीण साकोस, ललितपुरको ठेचो महिला जागरण र चितवनको लोककल्याणकारी साकोस रहेका छन् ।
आर्थिक वर्ष २०८०÷८१ को प्रोवेशन अन्तिम परिक्षणमा सहभागी ३ साकोसहरु नेफ्स्कूनले प्रदान गर्ने नेपाल सरकार सहकारी विभागको मान्यता प्राप्त प्रोवेशन ब्राण्ड पाउन सफल भएका हुन् ।
नेफ्स्कूनको बुटवलमा शुक्रबारबाट सुरु भएको ३३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा तीनवटै साकोसलाई प्रावेसन ब्राण्डको प्रतीक (प्ल्याक) प्रदान गरिएको हो ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायतले तीनवटै साकोसका प्रतिनिधिहरुलाई संयुक्त रुपमा ब्राण्डको प्रतीक प्रदान गरेका हुन्।
तीनवटै साकोसले विगतमा प्रोवेसन ब्राण्ड प्राप्त गरिसकेका छन् । ग्रामीण साकोसले यसअघि ७ पटक तथा ठेचो महिला साकोस र लोककल्याणकारी साकोसले २/२ पटक राष्ट्रियस्तरको ब्राण्ड पाइसकेका छन् ।
२४ सय बढी सदस्य रहेको सल्यानको ग्रामीण साकोसमा हाल ३० करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी करिब ११ प्रतिशत छ । त्यसैगरी, ठेचो महिला जागरणमा ३ हजार बढी सदस्य छन्, १६ करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी सात प्रतिशत बढी छ भने साढे ७ प्रतिशत बढी संस्थागत पुँजी रहेको लोककल्याणकारी साकोसमा १८५० सदस्य छन् भने ३७ करोड बढी कुल सम्पत्ति छ ।
नेफ्स्कूनले २०६९ सालबाट प्रोवेशन कार्यक्रम सुरु गरेको हो । नेफ्स्कूनले उद्योग विभागबाट प्रोवेशन ट्रेडमार्कको दर्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।
Comment