‘पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्छु’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

‘पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्छु’



काठमाडाैँ । नवनियुक्त नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो कार्यकालमा पुँजी बजारलाई नयाँ उचाईमा पुराउने प्रतिबद्दता जनाएका छन् । आज अर्थमन्त्री विष्णु पौडेलबाट पद तथा गोपनियतताको शपथ दिदैं उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘मैले पाएको जिम्मेवारीलाई अवसरमा परिणत गर्दै नेपालको पुँजी बजारलाई नयाँ उचाईमा पुराउने प्रण गर्दछु ।’ उनले भने, ‘ बजार विस्तार गर्न चुनौति धेरै छन् । तर, बजारमा देखिएका समस्या समाधान गर्दै अघि बढ्छु ।’

नेपाली पुँजी बजारको दायरा अझै बढाउन सकिने उनले बताए । उनले भने, पुँजी बजारको दायरा बढाउनु आवश्यक रहेको छ । पुँजी बजारको सिद्दान्त बमोजिम राष्ट्र हित र आर्थिक विकासका पुँजी बजारलाई प्रयोग गर्ने सकिन्छ ।‘

श्रेष्ठले लगानीकर्ताको लगानी सुरक्षा मेरो भुमिका रहने दाबी गरे । ‘मेरो पहिलो प्राथमिकता पार्देशिकता हो । सरकार समक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेको छु त्यहि अनुसार पुँजी बजार सुधारका लागि लाग्नेछु’ उनले भने ।

पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्ने उनले बताए । ‘लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्छु, लगानीकर्ताको लगानी सुरक्षालाई प्राथमिकतामा राख्नेछु, सेयर बजार मात्र नभई समग्र अर्थतन्त्र नै चलायमान बनाउनु छ, देशको अर्थतन्त्र र आर्थिक विकासका लागि पुँजी बजारलाई सदुपयोग गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सेयर बजारको क्षेत्र ठूलो छ, सेयर बजार पुँजी बजारको सानो हिस्सामात्रै हो । हामीले समग्र पुँजी बजारलाई नै विकास गर्नुपर्छ ।’

साथै धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा विगत लामो समयदेखि सेयर निष्कासनका लागि दर्जनौं कम्पनी पाइपलाइनमा छन् । प्रक्रिया पुर्‍याएर ती कम्पनीलाई सेयर बिक्री गर्न उनले अनुमति दिनुपर्ने देखिन्छ । पुँजी बजारमा हुने गलत क्रियाकलापको निगरानी र नियन्त्रणमा आफ्नो बढी जोड रहने उनको भनाइ छ ।

‘लगानीकर्ताको सुरक्षाका लागि काम गर्न आएको हुँ, व्यापारिक घराना वा स्वार्थ समूहबाट होइन, प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरूलाई अवसरका रूपमा बदल्नेछु,’ अध्यक्ष श्रेष्ठले भने ।

प्रकाशित : १२ मंसिर २०८१, बुधबार ०७:१०