´फीन इलेक्ट्रो टेक –२०२४’ सफलतापूर्वक सम्पन्न, ४० हजारले गरे अवलोकन [फोटोफिचर] « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

´फीन इलेक्ट्रो टेक –२०२४’ सफलतापूर्वक सम्पन्न, ४० हजारले गरे अवलोकन [फोटोफिचर]



काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक आज अर्थात् मंसिर २ गते भव्यताका साथ समापन भएको हो ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको फीन इलेक्ट्रो टेकमा अवलोकनकर्ताहरूको उल्लेखिय उपस्थित भएको छ । महासंघले आयोजना गरेको यो प्रदर्शनीको पहिलो दिन ७ हजार, दोस्रो दिन ९ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन ७ हजारले गरी जम्मा ४० हजारले अवलोकन गरेका छन् ।

इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रयोगमा आएको महत्वपूर्ण परिवर्तनले दैनिक जीवनमा आएका सहजता र प्रभावकारी बारे उपभोक्तालाई बुझ्न यस मेलाले थप सहज बनाएको महासंघले विश्वास लिएको छ । मेलामा इलेक्ट्रिक मोटर, जेनरेटर, विद्युत ट्रान्समिशन लाइनका उपकरण, ट्रान्सफर्मर, घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीहरू मेलाको आकर्षणमा थिए ।

स्मार्ट ग्रिडहरूमा डिजिटल टेक्नोलोजी र इलेक्ट्रोनिक सामग्रीको प्रयोग गरिन्छ । जसले ऊर्जा वितरण र प्रयोगको निगरानी र नियन्त्रण गर्ने भएकाले यस पटकको मेला महासंघले “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” भन्ने नाराका साथ आयोजना गरेको हो ।

इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूको प्रयोग अहिले लगभग हरेक क्षेत्रमा फैलिएको छ । यसले जीवनलाई सजिलो, प्रभावकारी र सुरक्षित बनाएको छ । यी सामग्रीहरूको भविष्यमा पनि नयाँ नवप्रवर्तन र प्रविधिहरूमा प्रयोगका अवसरहरू बढ्दै जाने भएकाले अहिले विद्युतीय सामग्रीहरूमा आएको ट्रेन्डलाई मेलाले उपभोक्तालाई बुझायो भन्ने अपेक्षा महासंघले लिएको छ ।

मेलामा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, भारतिय राजदुताबासका उच्चस्त व्यक्तीहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ एवं नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूका साथै नेपाली क्रिकेटरहरु, कालाकारहरु, कन्सल्टिङ्ग, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका उद्योगी एवं व्यवसायीहरुले पनि अवलोकन गरेका थिए ।

उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको यस मेलाले धेरैलाई आकर्षण गरेको पाइएको छ । मेलालाई थप प्रभावकारी बनाउनको लागि मेला अवधिभर विभिन्न विधामा रहेर विज्ञहरूको समूहद्वारा छलफल भएको थियो ।

उक्त समूहले विद्युतीय सुरक्षामा गुणस्तर, विद्युतीय सर्किटमा केबलको महत्व र नवीनतम प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफल पनि गरेका थिए । सो छलफलले यस क्षेत्रमा देखा परेका समस्या र अवसरहरूलाई उजागर गर्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

विद्युतीय सामग्रीको प्रयोगसँगै प्राविधिकको विकास गर्न सक्यो भने यसको बजार थप मजबुद बनाउँछ । सोही सिलसिलामा आगामी दिनमा थप नयाँ विषय बस्तुलाई समेट्दै प्रदर्शनीको आयोजना महासंघले गर्नेछ । प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यो प्रदर्शनी अब सन् २०२६ मा आयोजना गर्ने महासंघले निर्णय गरिसकेको छ भने सो कार्यक्रमको लागि ट्रान्सवेल्ड ट्रान्सफर्मरले टाइटल स्पोन्सर गर्ने र के.इ.आई. जनता केबलले प्लेटिनम स्पोन्सर गर्ने घोषणा गरेका छन् ।

यस पटकको फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ८२ वटा प्याभिलियन तथा स्टलहरू रहेका थिए । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको गरिएको छ ।

यसपटकको फिन इलेक्ट्रो टेक २०२४ मा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) थियो भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको थियो । यसै गरी डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किड इलेक्ट्रिकल्स प्रा. लि.) र जानकी केबल (जानकी केबल इन्डस्ट्री प्रा. लि.) रहेका थिए भने प्रदर्शनीको गोल्ड स्पोन्सरमा सि.एन एस. (प्राइम भेन्चर्स प्रा. लि.), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रा. लि.), स्विफट गोल्ड (बबिता ट्रेडर्स) र के.इ.आई. जनता (जनता केबल इन्डस्ट्रिज प्रा. लि.) रहेका थिए । त्यस्तै अफिसिएल बैंकमा गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र अफिसिएल क्यारियरमा ग्लोबल कलस लजिस्टीक रहेका थिए । प्रदर्शनीमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका थियो ।

यस्तै, मेलामा ट्रान्स्वेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, स्वीफ्ट गोल्ड, केइआई, लिशा, विसिएच, बजाज, हेभल्स, सिमेन्स, क्रम्टन, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार एल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको थियो ।

इलेक्ट्रोनिक्स उद्योगका उत्पादन प्रदर्शन गर्न, नयाँ उत्पादनको परिचय दिन, उद्योगका पेशेवरहरूलाई नेटवर्किङ गर्ने र उपभोक्ताहरूलाई नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यका साथ महासंघले मेलाको आयोजना गर्दै आएको छ ।

प्रकाशित : २ मंसिर २०८१, आईतवार २१:१४