काठमाडाैं । वाणिज्य बैंकहरुले दुई महिनामै साढे १७ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउन र भदौ महिनामा मात्रै २० वटा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । बैंकहरुको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ६.३ प्रतिशत बढी हो । गत आवको पहिलो दुई महिनामा बैंकहरुले कुल १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका थिए ।
आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित २० वाणिज्य बैंकले उक्त मुनाफा आर्जन गरेका हुन् ।
समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । भदौ महिनासम्ममा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ ।
धेरै नाफा कमाउनेमा दोस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । त्यस्तै, इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले १ अर्ब १६ करोड र कुमारी बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् ।
यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा गरेका छन् ।
त्यस्तै एनएमबी बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख रुपैयाँ नाफा गरेका छन् ।
यस अवधिमा एनआइसी एसिया ५७ करोड ७५ लाख, नेपाल एसबीआइ बैंकले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख कमाएको छ ।
Comment