काठमाडौं ३० चैत । विश्व बैंकले नेपालको वित्तीय क्षेत्र बिकासको लागि १० अर्ब ७० करोड रुपैयाँको सहयोग उपलब्ध गराएको छ । मंगलबार अर्थमन्त्रालयमा भएको कार्यक्रममा विश्व बैंकका तर्फबाट कन्ट्रि डाइरेक्टर क्युमाओ फ्यान र अर्थसचिव शान्ताराज सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
विश्व बैंकले हाल प्रयोग गरेको यो सहयोग तेस्रो चरणको सहयोग हो । यो सहयोग नेपालको वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न नेपालको मध्यावधिक पुनरसंरचना कार्यक्रमलाई सहयोग गर्न, बैंकिङ क्षेत्रमा रहेको संवेदनशीलता कम गर्न र पारदर्शीता वृद्धि गर्न प्रयोग हुँदै आएको छ ।
‘सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने योजनाका साथ आगाडी बढेको नेपालमा वित्तीय क्षेत्र सुधारको ठुलो अर्थ रहन्छ, यो क्रममा हाल संसदबाट भएका वित्तीय नीतिहरु पारित हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ,’ विश्व बैंकका फ्यानले भने ।
अर्थसचिव शान्तराज सुवेदीले हाल नेपालको राजस्वको उठ्तीदर सन्तोषजनक रहेपनि अहिले मुलुकको संरचना फेरिन लागेकोले सरकारको खर्च बढ्ने भएकोले यस्ता वित्तीय सहयोगको अपेक्षा रहेको बताए । यो सहयोग रकम खर्च गर्न विश्व बैंकबाट कुनै शर्त रहने छैन् । सन् २०१३ यता विश्व बैंकबाट सहयोग पाए यता वित्तीय क्षेत्र सुधारको लागि भएका कामहरुको पनि सुवेदीले चर्चा गरे ।
Comment