काठमाडौं २५ चैत। नेपाल धितोपत्र बोर्ड आस्वा प्रणालीको सेवा शुल्कमा ६० प्रतिशत कटौती गरेको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, (आस्वा सम्वन्धी) २०७३, मा दोस्रो संशोधन गर्दै ६० प्रतिशत शुल्क घटाएको हो ।
यस अघि लगानीकर्ताले अधिकतम २५० रुपैंयाँसम्म सेवा शुल्क तिर्दै आएका थिए । अब लगानीकर्ताले अधिकतम एक सय रुपैंयाँ मात्रै सेवा शुल्क तिर्नु पर्नेछ । आस्वाको सेवा शुल्क महंगो भएको गुनासो आएपछि बोर्डले घटाउने निर्णय गरेको हो । त्यस्तै अब निष्कासन तथा विक्री प्रवन्धकले पनि १० रुपैंयाँ पाउने नयाँ व्यवस्था गरेको छ । बोर्डमा बुझाउनु पर्ने ३ प्रतिशत सेवा शुल्क पनि हटाएको छ ।
आस्वा प्रणालीको क्षेत्र विस्तार गरी सरकारी स्वामित्व रहेको वाणिज्य बैंकलाई सहभागी गराउँदै ७५ वटै जिल्लाबाट आस्वा प्रणाली मार्फत दरखास्त दिन सकिने व्यवस्था पनि बोर्डले अघि सारेको छ । बोर्डले माघ १ गतेदेखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागू गरेको थियो । त्यसपछि सार्वजनिक निष्काशन गरेका तीन वटा संगठित संस्थाहरुमा ६० प्रतिशत आवेदन आस्वा प्रणालीबाट भएको थियो ।
बोर्डले सम्वन्धित बैंक वा वित्तीय संस्थाले समेत दरखास्त साथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि कम गर्ने पनि जनाएको छ ।
Comment