नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले मनायो ५४औं वार्षिकोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले मनायो ५४औं वार्षिकोत्सव



काठमाडाैं । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले ५४औं वार्षिकोत्व मनाएको छ । काठमाडौं नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो ।

कम्पनीका अध्यक्ष छपिराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुई कर्मचारीलाई दीर्घ सेवा पदक, निवर्तमान महाप्रबन्धक, निवर्तमान सञ्चालकलाई कदरपत्रका साथै आयात र निर्यातमा उल्लेख्य योगदान गर्ने ५ वटा संस्थालाई सेवाग्राही सम्मान गरिएको थियो । कम्पनीले ३७ वर्षदेखि संस्थामा कार्यरत हरिनारायण चौधरी र ३६ वर्षदेखि कार्यरत नरेन्द्र चौधरीलाई दीर्घ सेवा पदक प्रदान गरेको थियो ।

नेपालबाट समुद्रपारका मुलुकहरुमा निकासी हुने तथा ती मुलुकहरुबाट पैठारी हुने सामानहरुको निमित्त पारवहन सम्बन्धी सेवा सुविधाहरु प्रदान गर्ने उद्देश्यले २०२८ भाद्र ३० गते कम्पनीको स्थापना भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले ५४औं वर्षको समय अवधिमा कम्पनीले धेरै आरोह अवरोध पार गरेको बताए । आगामी दिनमा विजनेश प्लान बनाएर अघि बढ्न सुझाव दिए । ‘कम्पनीको क्षेत्राधिकारलाई उन्नत बनाउनु पर्छ । लामो समय काम गरेको साथीहरु पनि हुनुहुन्छ । अरु साझेदार संस्थाहरु पनि छन् । अब ठोस कार्ययोजना बनाएर अघि बढ्नुको विकल्प छैन’, उनले भने, ‘अहिलेकै स्थितीमा लिएको लक्ष्य पूरा गर्न सम्भव छैन । थुपै चुनौती, जटिलता छ यसलाई चिरेर जानुपर्छ । अब व्यवसायिकतातर्फ अघि बढ्नुपर्छ । मन्त्रालय साथमा छ ।’

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कम्पनीले थप सेवा विस्तार गर्नु पर्नेमा जोड दिए । कम्पनीलाई चुस्त, दुरुस्त बनाउन सबैको साथ, सहयोग आवश्यक रहेको बताए । संस्थागत पुर्नसंरचना गरी शाखा विस्तार गरेर सेवालाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

स्थापनाको ५४औं वर्षमा आईपुग्दा कम्पनी संचालन, व्यवस्थापन र कार्य सम्पादनलाई सहज र प्रभावकारी बनाउने यात्रामा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने निकायहरुप्रति अध्यक्ष छपिराज पन्तले हार्दिक आभार व्यक्त गरे । आगामी दिनमा कम्पनीले नेपालको आयात निर्यात व्यापार, गोदाम संचालन एवं पारवहन सहजीकरणको क्षेत्रमा अझै विशिष्ट र परिष्कृत भूमिका खेल्ने प्रतिवद्धता जनाए । कम्पनीलाई थप गतिशील र विस्तारित बनाउन सम्पूर्ण सरोकारवालाहरुको रचनात्मक सहयोग र सहकार्यको अपेक्षा अध्यक्ष पन्तले गरेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्पनीका महाप्रबन्धक प्रकाश प्रसाद पोखरेलले व्यावसायिक योजना निमार्ण गरी कम्पनीलाई अघि बढाउने बताए । हल्दिया स्थित लिज जमिनमा कोइला भण्डारका लागि पूर्वाधार निमार्ण सुरुवात गर्ने, कोलकत्ता पोर्ट स्थित लिज जमिनमा पूर्वाधार निमार्णमा नीजि लगानी साझेदारी आव्हान गर्ने, कोलकत्तादेखि नेपालसम्म ट्रक ढुवानी सेवा सञ्चालनका लागि विजनेश मोडल तयार गर्ने योजना रहेको पोखरेलले बताए ।

भारतको कम्पनी ऐन, १९५६ अन्तर्गत विदेशी कम्पनीको रुपमा भारतमा समेत दर्ता भइ निरन्तर सेवा प्रवाह गर्दै आएको यस कम्पनीको केन्द्रीय कार्यालय, शाखा र उपशाखा गरी ८ वटा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।

आयात÷निर्यात व्यापारमा सुविधा उपलव्ध गराई नेपालको अर्थ व्यवस्थाको विकासमा टेवा दिने, आयात/निर्यात व्यापारमा पारवहन सम्वन्धि सुविधाहरुमा वृद्धि र खर्चमा स्थिरता ल्याउने किसिमसंग आफ्नो कारोवार संचालन गर्ने, सरकारी र गैर सरकारी जुनसुकै ग्राहकहरुलाई आवश्यक सुविधा तथा सेवा उपलव्ध गराउने उद्देश्यले यस कम्पनीको स्थापना गरिएको थियो । त्यस्तै आधिकारीक निकायको स्विकृति र सहमतिले प्रचलित कानूनको अधिनमा रही आयात/निर्यात व्यापारको लागि सुविधाजनक गोदाम घर पूर्ण रुपमा वा आंशिक रुपमा संचालन गर्ने र नेपालको सामान राख्ने गोदाम घर वा क्षेत्रबाट नेपालको लागि हुने वा नेपालबाट निर्यात हुने मालसामानको पारवहनमा सुविधा एवं सेवा उपलव्ध गराउने गरी कम्पनीको स्थापना भएको थियो ।

काठमाडौंको बालुवाटारमा प्रधान कार्यालय रहेको कम्पनीको कोलकाता, काँकडभिट्टा, बीरगञ्ज शाखा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शाखा कार्यालय रहेको छ । त्यस्तै हल्दिया र राधीकापुरमा उपशाखा रहेको छ । कम्पनीले यी कार्यालयमार्फत कम्पनीले क्लियरिङ्ग (भन्सार दस्तावेजीकरश, शुल्क र कर गणना र भन्सार क्लियरेन्स), फारवार्डिङ्ग (यातायातको समन्वय, यातायातको दस्तावेजीकरण, कार्गो ह्यान्डलिङ र गोदाम) र अन्डरटेकिङ्ग सेवा प्रदान गर्दै आएको कम्पनीका महाप्रबन्धक प्रकाश प्रसाद पोखरेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ३० करोड २२ लाख आम्दानी गरी २६ करोड ११ लाख खर्च गरेको छ । कम्पनीले यस आ.वमा ४ करोड ११ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीसँग ५४ करोड ३८ लाख रुपैयाँ सञ्चित नाफा रहेको महाप्रबन्धक पोखरेलले जानकारी दिए ।

कम्पनीमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको प्रति कित्ता एक हजारको दरले १२ हजार २ सय ४३ थान सेयर रहेको छ ।

कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२ मा थप सेवाक्षेत्र विस्तार गर्ने वार्षिक नीति तथा कार्यक्रमहरु निमार्ण गरेको छ । कम्पनीले भारतको कोलकाता/हल्दिया र बीरगंज/रक्सौलमा दीर्घकालीन लिजमा लिएका जमिनको व्यवसायिक प्रयोग गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिँदै सञ्चालन तथा व्यवस्थापन साझेदारी सम्बन्धी कार्यविधिगत प्रबन्ध गरिने जनाएको छ ।

कम्पनीले परम्परागत रुपमा सञ्चालन गरिरहेका व्यापार सहजीकरणसँग सम्बन्धित लजिस्टिक सेवाहरुको प्रकृतिमा आएको परिवर्तनलाई आत्मसात गर्दै नयाँ व्यवसायिक अवसरहरुको खोजिका लागि आवश्यक अध्ययन र परामर्श गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी पारवहन लजिस्टिकमा कम्पनीको भूमिका बढाउन सम्बद्ध पक्षहरुसँग औपचारिक साझेदारीका सम्भावनाहरु खोजी गर्दै बजारीकरण र मार्केट इन्टेलीजेन्समा जोड दिईने जनाएको छ ।

पारवहन ढुवानी र लजिस्टिक व्यवस्थापनका क्षेत्रमा निरन्तर भैरहेका प्राविधिक विकास, प्रकियागत परिवर्तन र द्विपक्षीय तथा क्षेत्रीय सम्झौताले कम्पनीको कार्यक्षेत्रको दायरामा पार्न सक्ने जोखिमको पूर्व आकलन गरी तदनुसार कम्पनीका नीति तथा कार्यक्रम अनुकूलन गर्ने अभ्यासको शुरुवात गरिने कम्पनीका अध्यक्ष पन्तले जानकारी दिए ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार ११:१९