नास आईटी अवार्ड्स २०२४ आयोजना हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नास आईटी अवार्ड्स २०२४ आयोजना हुँदै



काठमाडौं। नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न नास आईटी अवार्ड्स आयोजना हुन लागेको हो ।

यो प्रतिष्ठित कार्यक्रमले नेपालको आईटी क्षेत्रको उत्कृष्टता उजागर गर्न र अन्तर्राष्ट्रिय एपिक्टा अवार्ड्सको तयारी गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटीको उद्देश्यबारे मन्तव्यसहित सम्मेलनको उद्घाटन गरे। उनले भने, “हाम्रो उद्देश्य नेपालका आईसीटी क्षेत्रलाई प्रतिनिधित्व गर्नु र स्थानीय कम्पनीहरूलाई विश्वव्यापी मंचमा आफ्नो नवप्रवर्तनहरू विस्तार गर्न मद्दत गर्नु हो। नास आईटी अवार्ड्स जस्ता कार्यक्रमहरू मार्फत हामीले हाम्रो उद्योगको उपस्थिति र विश्व मञ्चमा प्रभाव बढाउने लक्ष्य राखेका छौं।”

नास आईटी अवार्ड्सका कार्यक्रम प्रमुख संयोजक प्रार्थना साखस्ले अवार्ड्सको इतिहास, विभिन्न अवार्ड विधाहरु, योग्यता मापदण्ड र अवार्ड समारोहको विभिन्न कार्यक्रमहरुको समयरेखा बारेमा विस्तृत जानकारी दिइन्। साखस्ले नास आईटी अवार्ड्सले उत्कृष्ट कम्पनीहरूलाई मान्यता मात्र नदिई नेपालका पृथक नवप्रवर्तनहरूलाई प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय मंच पनि प्रदान गर्ने कुरा जोड दिइन्।

यस वर्ष ब्एक्ष्ऋत्ब् अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम बीच प्रतिस्पर्धा हुनेछ।

नास आईटीका उपाध्यक्ष सन्तोष कोइरालाले अवार्ड्सको महत्त्वलाई विशेष रूपले जोड दिए। उनले भने, “नास आईटी अवार्ड्स नेपालको आईटी क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने एक प्रतिष्ठित मंच हो। यसले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउन योग्य नवप्रवर्तनहरूलाई उजागर गर्न मद्दत गर्दछ।”

अवार्डमा आवेदन दिन नेपालमा दर्ता भएको कम्पनी हुनुपर्नेछ। यदी विदेशी लगानीको कम्पनी भए त्यसमा ५१ प्रतिशत स्वामित्व नेपालको हुनुपर्नेछ। साथै ग्राजुएट भएको १ वर्षसम्मका विद्यार्थीले समेत आफ्नो परियोजनालाई अवार्डमा पठाउन सक्ने छन्।

आवेदन दिनका लागि विद्यार्थीको परियोजनालाई १ हजार र अन्यलाई ५ हजार रूपैयाँ शुल्क तोकिएको छ। आवेदन दिनपछि पिचिङ राउन्ड सुरू हुनेछ। त्यसमा मूल्यांकनका लागि ३ देखि ५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जजहरू हुनेछन्।

नास आईटी अवार्डको ग्राण्ड फिनाले सेप्टेम्बर २७ मा हुनेछ। अवार्ड विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ।

प्रकाशित : ३० श्रावण २०८१, बुधबार १५:५४