काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा बागमती प्रोस्कूनले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै बडालले सहकारी अभियान सक्षम नभई समानताको आधार नबन्ने बताए । उनले सहकारी क्षेत्रले बहुआयमिक गरिबीलाई कम गर्न खेलको भूमिका महत्वपूर्ण रहेको जनाए ।
मुलुकमा १४ हजार बचत तथा सहकारी संस्था रहेको भन्दै उनले बचत ऋण सहकारी अभियान ठीक ढंगले अघि बढे त्यसको प्रभाव सबै क्षेत्रमा पर्ने उनको भनाई छ । बचत ऋण अभियान ठीक हुने बित्तिक्कै अन्य क्षेत्रलाई ठुलो भरथेग हुने बडालले जनाए । जापान, कोरिया लगायतका राष्ट्रले भूमिसुधार र सहकारीलाई सँगसँगै लगेकाले आर्थिक रुपमा ठुलो फड्को मार्न सकेको उनको भनाई छ । सहकारीको बोर्ड झुन्डाएर मनपरी गर्ने र सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहेर सदस्यको आर्थिक सामाजिक रुपान्तरण गर्ने सहकारीबीच कित्ताकाट हुनुपर्ने उनको धारणा छ ।
सहकारीले कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशतको योगदान गरेको भन्दै १ लाखले प्रत्यक्ष रोजगार पाएको बडालले बताए । देशभर ३० हजार सहकारी रहेको भन्दै उनले ५ सय सहकारी संस्थामा मात्रै समस्या आएको उल्लेख गरे ।
वार्षिकोत्सवको अवसरमा विभिन्न १४ विद्यामा पुरस्कार तथा सम्मान समेत घोषणा गरिएको छ । संघका सञ्चालक एंव सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तेजेन्द्र खड्काले पुरस्कार तथा सम्मान घोषणा गरेका थिए । संघले उत्कृष्ट सहकारी अभियन्ता सम्मान सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाललाई दिने भएको छ । त्यसैगरी उत्कृष्ट बचत ऋण संघतर्फ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थातर्फ नव जागरण सहकारी, उत्कृष्ट महलिा सहकारी संस्थातर्फ ज्ञानज्योति महिला उत्थान सहकारी र सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रन्युज डटकमका सम्पादक माधव खड्कालाई दिने घोषणा त्यस अवसरमा गरिएको छ ।
त्यसैगरी प्रदेश उत्कृष्ट साकोस व्यवस्थापकमा पुरुषतर्फ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थका प्रमुख कार्यकारी अधिकृत के. बि. लामा स्याङ्तान र उत्कृष्ट महिला कर्मचारीतर्फ मकवानपुर जिल्ला बचत तथ ऋण सहकारी संघकी व्यवस्थापक सुमित्रा वाईवा घोषित भएकी छिन् । साकोस पदाधिकारी सम्मान भरत प्रसाद दवाडी, उत्कृष्ट सेवा उपयोेग सम्मान पाँचतारा बचत तथा ऋण सहकारी संस्था, अधिक शेयर लगानी ज्योति मिर्मिर बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट बचत कारोबारमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ र सहकारी एकीकरणतर्फ भावना बचत तथा ऋण सहकारी संस्था दोलखालाई दिइने भएको छ । त्यसैगरी प्रोस्कुन पूर्व सञ्चालक सम्मान संघकी पूर्व अध्यक्ष राधा सुङताङ र कर्मचारीमध्येबाट कार्यालय सहयोगी लक्ष्मी खड्का क्षेत्रीलाई सम्मान गर्ने सो अवसरमा जानकारी दिइयो । संघको आगामी साधारणसभामा घोषित सम्मान तथा पुरस्कार वितरण गरिने संयोजक खड्काले जानकारी दिए ।
संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, नेफस्कूनका कार्यवाहक अध्यक्ष दामोदार अधिकारी, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बागमती प्रोस्कुनले सहकारीलाई ४ समुहमा वर्गिकरण गर्ने
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले संघमा आवद्ध संस्थाहरुको बर्गिकरण गर्ने भएको छ । संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले संघको बार्षिक योजना अनुसार यस आर्थिक बर्षबाट संस्थाहरुको वर्गिकरण गरिने बताए । सक्षम, सामान्य, सुधार गर्नुपर्ने र निस्कृय गरी संस्थाहरुलाई ४ वटा समुहमा विभाजन गरिने उनको भनाई छ । त्यसका लागि संघले वर्गिकरणको आधार र सूचकहरु तयार गरेको भन्दै उनले सबै संस्थालाई एउटै उपचार विधि काम नलाग्ने जानकारी दिए । समस्यामा परेका सहकारीलाई पुनः सञ्चालन योग्य बनाउन कर्मचारीलाई तालिम शिक्षा मार्फत दक्ष बनाउने र आवश्यक परे वित्तीय सहजीकरण समेत गर्ने उनको भनाई छ । संस्थाको अवस्था अनुसार आधारभूत, मध्यम र उच्च स्तरीय तालिम दिने र सक्षम संस्थाका व्यवस्थापकहरुलाई रिसोर्स पर्सनका रुपमा प्रयोग गर्ने उनले जनाए । संघमा बागमती प्रदेशभरका ४९४ संस्था आवद्ध छन् । त्यस मध्ये २२ संस्था कोशिस कार्र्र्यक्रममा सहभागी रहेका छन् । संघले संस्थाहरुलाई सुशासित, व्यावसायिक र सुरक्षित बनाउन कोशिस कार्यक्रम सञ्चालन गरेको हो ।
त्यसैगरी संघले सञ्जाल व्यवस्थापन गरेर अगाडि बढ्ने नीति लिएको र सोही अनुरुपम ४ वटा जिल्ला बचत संघसँग सम्झौता समेत गरिसकेको छ । बचत संघमार्फत सदस्य संस्थाहरुलाई तालिम तथा शिक्षा प्रदान गर्ने र संघहरुलाई सबल बनाउन कोशिस कार्यक्रममा सहभागी गराउने उनले बताए । संघले चालु आर्थिक वर्षमा २० वटा संस्थाको अनुगमन गर्ने र सुधारका लागि सहजीकरण समेत गर्ने जनाएको छ । संघले बागमती सरकारबाट स्वीकृत लिएर ऋण व्यवस्थापन, संगठन विकास, लेखा प्रणाली र युवाका लागि वित्तीय साक्षरता कार्यक्रमको पाठ्यक्रम विकास गरिसकेको छ । यस आर्थिक बर्षमा थप २ वटा नयाँ पाठ्यक्रम विकास गरेको समेत उनले जानकारी दिए । संघले गत आ.व.मा १८ वटा संस्थाको अनुगमन गरेको र सुशासनमा कसैसँग सम्झौता नगर्ने उनको भनाई छ ।
संघको गत असार मसान्तसम्म शेयरपुँजी ७ करोड ४८ लाख, बचत ३ अर्ब ५४ करोड, वित्तीय लगानी २ अर्ब ६३ करोड, ऋण लगानी ४० करोड, तरलता ५७ करोड ४५ लाख र कर अघिको बचत २ करोड ९२ लाख रहेको छ । संघको कुल सम्पत्ति ३ अर्ब ५४ करोड पुगेको छ ।
बागमती प्रोस्कुन पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)ले नेपालपत्र न्यूज डटकमका सम्पादक माधव खड्कालाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । संघले आयोजना गरेको चौंथो वार्षिक उत्सव कार्यक्रममा खड्कालाई पत्रकारिता पुरस्कार गर्ने घोषणा गरेको हो । पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर कलम चलाएको भन्दै यस वर्षको पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई दिने बागमती प्रोस्कुनले जनाएको छ । संघले आगामी साधारण सभामा घोषित पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । नेपाल सहकारी पत्रकार समाजका कोषाध्यक्ष समेत रहेका खड्का विगतको दशकदेखि पत्रकारिता गर्दै आएका छन् ।
Comment