मेड इन नेपाल अभियानलाई थप सशक्त बनाउनु पर्छ : अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मेड इन नेपाल अभियानलाई थप सशक्त बनाउनु पर्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल युवा उद्यमी मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले करिब १५ वर्षअघि नेपाल युवा उद्यमी मञ्चले शुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाहरूको लागि प्रेरणाको स्रोत बनेको बताए ।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघको युवा संगठनका रुपमा नेपाल युवा उद्यमी मञ्चले धेरै क्षेत्रमा नेतृत्व गरेकोमा प्रशंसा गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा बढाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले गरेको कामको प्रशंसा पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको पनि उनले बताए । उनले उद्योग वाणिज्य महासंघले स्टार्टअपलाई कानूनमा परिभाषित गर्न सफल भएको बताए । नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले उद्यमशीलता प्रवरद्धनमा विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले महासंघको विधान संशोधनको मस्यौदा कार्यसमितिबाट पारित गरेको र नेपाल युवा उद्यमी मञ्चको अध्यक्ष पदेन रुपमा कार्यकारिणी समिति सदस्य रहने व्यवस्था समावेश गरिएको ढकालले बताए ।

यसमा सदस्यताका लागि केहि व्यवस्था गर्नुपर्ने बताउँदै उनले आगामी विशेष साधारणसभाले पारित गर्ने र नेपाल युवा उद्यमी मञ्चको नेतृत्व महासंघको नेतृत्वमा पनि पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

देशको अर्थतन्त्रका बारेमा बोल्दै ढकालले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग भेटघाट गरेको बताए । निजी क्षेत्रको मनोबल उकास्न काम गर्न सरकारलाई आग्रह गरेको र सरकारले महासंघको सुझावहरुलाई सकारात्मक रुपमा लिएको बताए ।

प्रकाशित : ६ श्रावण २०८१, आईतवार ११:५५