यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई तारकेश्वर नगरपालिकाले भत्ता दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई तारकेश्वर नगरपालिकाले भत्ता दिने



काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायप्रति स्थानीय सरकार उदार देखिन थालेका छन । सम्भवतः बाग्मती प्रदेशमै पहिलोपटक काठमाडौंको तारकेश्वर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र समुदायका व्यक्तिहरुका लागि भत्ताको व्यवस्था मिलाउने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समुदायका व्यक्तिहरुलाई मासिक पाँच हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

पालिकासंगको नियमित समन्वय र पैरवी संगसंगै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरु माथि हुने भेदभाव विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघसँग आबद्ध संस्था क्रुजएड्स नेपालले काठमाडौंमा रहेका पालिकाका उपप्रमुख तथा महिला तथा सामाजिक शाखाका प्रमुखहरुसंग समुदायका मुद्दा र स्थानीय सरकारले गर्नुपर्ने पहलहरुका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

उक्त अन्तरक्रियामा जनाइएका प्रतिबद्धता मध्ये तारकेश्वर नगरपालिकाले गरेको निर्णयले खुशी दिलाएको अभियन्ता सिमरच शेरचनले जानकारी दिइन । निर्णयले केही मात्रामा भएपनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई सहायता प्रदान गर्ने र जनउत्तरदायी स्थानीय सरकारको उदाहरण समेतको रुपमा लिन सकिने उनले बताइन।

पालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख प्रतिमा मिश्रले निर्णय कार्यान्वयनका चरणमा रहेको जानकारी दिइन । उक्त पालिकामा भएका व्यक्ति पहिचानका लागि समन्वय गर्ने विषयमा छलफल गरिएको छ।

प्रकाशित : ११ असार २०८१, मंगलवार १६:१९