११ वाणिज्य बैंकले घटाए ब्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थतन्त्र

११ वाणिज्य बैंकले घटाए ब्याज



काठमाडौं । वाणिज्य बैंकहरूले असारका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार ११ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।

जेठ महिनामा औसतमा ६.९९ प्रतिशत विन्दु रहेको १९ वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६.८६ प्रतिशत विन्दुमा झरेको छ ।

असार महिनाका लागि बैंकहरुको यस्तो निक्षेपको औसत ब्याजदर ०.१२ प्रतिशत विन्दुले घटेको हो । त्यस्तै, बैंकहरुको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ०.१३ प्रतिशत विन्दुले घटेको छ ।

घटाउनेमध्येमा ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशत विन्दु ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको बैंकको ब्याजदर असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशत विन्दुले घटेर ५.५ प्रतिशतमा झरेको छ ।

त्यसैगरी, जेठ महिनाको तुलनामा असारमा ३ बैंकहरुले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउने बैंकमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक रहेका छन् ।

हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशत विन्दु ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.२५ प्रतिशतका दरले ब्याज दिने सूचनामा उल्लेख छ ।

सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक नै रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिनेछ । जेठ महिनामा पनि बैंकले सोही दरमा ब्याज दिइरहेको थियो ।

प्रकाशित : ३२ जेष्ठ २०८१, शुक्रबार १०:१९