नेपाल लाइफले बोलायो दुई वर्षको साधारण सभा, के-के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल लाइफले बोलायो दुई वर्षको साधारण सभा, के-के छन् एजेण्डा ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ औं र २४ औं वार्षिक साधारण सभा एकैपटक गर्ने भएको छ। कम्पनीले यी दुवैको साधारण सभा आगामी असार १८ गते मंगलबार वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे गर्ने निर्णय गरेको छ ।

उक्त सभामा आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

साथै, सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।

कम्पनी नियमावलीमा गरिने संशोधन माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०७८/७९ र आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा आव २०७९/८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप समेत पारित हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार ३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलवार १२:५४