मजबुत बन्दै बाह्य अर्थतन्त्र, सरकारको चालु खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँले बचत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मजबुत बन्दै बाह्य अर्थतन्त्र, सरकारको चालु खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँले बचत



काठमाडौँ । सरकारको चालु खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्कले चालु खाता बचतमा रहेको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोड रुपैयाँले बचतमा छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड रुपैयाँ कायम थियो । यस्तै गत वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १९:००