एक महिनामै ५४ खर्ब ४८ अर्ब रुपैयाँ बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

एक महिनामै ५४ खर्ब ४८ अर्ब रुपैयाँ बढीको कारोबार



काठमाडौं । विद्युतीय प्रणालीहरूमार्फत एक महिनामै ५४ खर्ब ४८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै विद्युतीय प्रणालीमार्फत ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो ।

चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै १२ करोड २६ लाख ४ हजार ९५३ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । विद्युतीय माध्यमहरूबाट गत चैत महिनामा मात्रै ५२ खर्ब ८२ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै फागुन महिनामा ५१ खर्ब ६७ अर्ब ७७ करोड, माघमा ४५ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ र पुस महिनामा ४३ खर्ब ३८ अर्ब २३ करोड रुपैयाँ बराबरको लेनदेन भएको थियो ।

राष्ट्र बैंकका अनुसार नेपालमा सबैभन्दा बढी आरटीजीसी प्रणालीमार्फत कारोबार हुने गर्छ । ‘आरटीजीसी’ प्रणाली ठूलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।

नेपालमा आरटीजीसी, बालेट, एटीएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्यूआर बेस पेमेन्ट, पीओएस र ई-कमर्श जस्ता विद्युतीय प्रणालीहरूमार्फत कारोबार हुने गरेको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार १८:५७