उद्योग संगठन मोरङद्धारा उर्जा दक्षता सम्बन्धि प्रतिष्ठानका प्राविधिकहरुलाई तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उद्योग संगठन मोरङद्धारा उर्जा दक्षता सम्बन्धि प्रतिष्ठानका प्राविधिकहरुलाई तालिम



बिराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप स्तरोन्नती तालिम सम्पन्न गरेको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती उर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संचालित ईनर्जी ईफिसियन्सी तालिममा २२ जना प्रशिक्षर्थीको सहभागिता थियो । ईन्स्योर परियोजनासंगको सहकार्यमा संचलित संगठनको सीप विकास कार्यक्रम अन्तर्गत संचालित तालिम एम एम प्लाष्टिक उद्योगमा कार्यरत प्राविधिकहरु सहभागिता रहेको थियो ।

२० दिने तालिमको समापन तथा पुरस्कार वितरण कार्यक्रम आज मिति २०८१ जेष्ठ ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्रशिक्षयार्थी प्रमाण पत्र वितरण गर्दै उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए ।

उनले उद्योग प्रतिष्ठानले भोग्दै आएको दक्ष प्राविधिकको अभावलाई मध्यनजर गरी उद्योगहरुको आवश्यकताका आधारमा संगठनले पाठयक्रम तयार गरी तालिम संचालन गर्दै आएको बताए । उनले पछिल्लो दिनमा यस प्रकारको तालिम संचालनका लागि उद्योगहरुको वढदो अभिरुची प्रति खुशी व्यक्त गर्दै प्रत्येक तालिमलाई कर्मचारीहरुले जिवनपर्यत्न्त सिकाईको प्रकृयाका रुपमा लिई आफनो कार्यसम्पादन क्षमतामा सुधार गर्न अनुरोध गरे ।

तालिमका प्रशिक्षक संजय कुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनिकरणका उपायहरु, खेर गईरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र संचालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्षता पद्धती र महत्वका विषयहरु तालिममा समेटिएको बताए ।

साथै संगठनको सीप विकास कार्यक्रम अन्तर्गत अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा जुट व्याचिङ सम्वन्धी तालिम तथा परिवर्तित सन्दर्भमा प्राविधिकहरुलाई ईष्डष्ट्रि अटोमेशन भेरिएवल फ्रिक्वेन्सी ड्राईभ (भि.एफ.डी) सम्वन्धी तालिम संगठन हाताभित्र एकै साथ संचालन रहको संगठनले जनाएको छ ।

संगठनले यसअघि विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरुलाई एकै थलोमा जम्मा गरी तालिम दिदै आएकोमा सिकाईलाई थप प्रभावकारी वनाउनका लागि पछिल्लो समय सम्बन्धित उद्योगको कार्यस्थल मै राखेर तालिम संचालन गर्ने नया अभ्यास अन्तर्गत यो तालिम संचालन गरिएको हो ।

संगठनले सम्बन्धित उद्योगको मागको आधारमा सम्बन्धित उद्योगका कार्यरत प्राविधिकहरुको दक्षताकाे मागका आधारमा पाठयक्रम समेत तयार गरी यस प्रकारको तालिम संचालन गर्ने रणनीति अख्तियार गरेको छ । यस आर्थिक वर्षमा ३ सय मध्ये १ सय जनाको तालिम सम्पन्न भईसकेको संगठनले जनाएको छ ।

तालिमको समापन कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष सुयष प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र सीप विकास कार्यक्रमका संयोजक दिपक कुमार अग्रवाल तथा ईन्स्योर परियोजनाकी रेखा उप्रेतीको सहभागिता रहेको थियो ।

प्रकाशित : १३ जेष्ठ २०८१, आईतवार ११:५९