राष्ट्रिय सहकारी बैंक एक अर्ब ३९ करोड नोक्सानीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय सहकारी बैंक एक अर्ब ३९ करोड नोक्सानीमा



काठमाडौ । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले एक अर्ब बढी नोक्सानी व्यहोरेको छ । 

गत वर्षको सोही अवधिमा २४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको पुस मसान्तसम्म आइपुग्दा एक अर्ब ३९ करोड ६३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा सहकारी बैंकको खुद ब्याज आम्दानी घटेको भने सञ्चालन नाफा र कुल सञ्चालन आम्दानी पनि नोक्सानीमा रहेका कारण नाफा घटेको हो । यसका साथै बैंकले खराब कर्जा उल्लेख्य बढेका कारण नाफा प्रभावित भएको हो । 

गत वर्ष ८६ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको यस्तो आम्दानी १४४.१० प्रतिशतले घटेर ३५ करोड ६३ लाख रुपैयाँमा झरेको छ । त्यस्तै खुद ब्याज शुल्क ताथ कमिसन आम्दानी १४०.२९ प्रतिशतले घटेको छ । 

समिक्षा अवधिमा बैंकको खुद सञ्चालन आम्दानी एक अर्ब ४१ करोड ६१ लाख रुपैयाँ र सञ्चालन नाफा एक अर्ब ७४ करोड १२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्ष ४.२० प्रतिशत रहेको सहकारी बैंकको खराब कर्जा बढेर १९.७६ प्रतिशत पुगेको छ । 

नाफासँगै सहकारी बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्षको सोही अवधिमा ८.२४ रुपैयाँ रहेको बैंकको यस्तो आम्दानी यस वर्ष ४९.८६ रुपैयाँ ऋणात्मक रहेको छ । 

पुस मसान्तसम्म दुई अर्ब ८० करोड २ लाख रुपैयाँ शेयर पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ८४ करोड १६ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

प्रकाशित : ६ जेष्ठ २०८१, आईतवार १२:३५