समाज कल्याण परिषद्लाई डिजिटाइजेसनमा लैजान मन्त्री चौधरीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समाज कल्याण परिषद्लाई डिजिटाइजेसनमा लैजान मन्त्री चौधरीको निर्देशन



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन्। उनी समाज कल्याण परिषद्की पदेन अध्यक्ष पनि हुन्।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि मन्त्री चौधरीले परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा अगाडि बढाउन निर्देशन दिएकी हुन्।

लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिसअनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन्।

‘परिषद्लाई अझ राम्रो बनाउनका निम्ति मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ,’ मन्त्री चौधरीले भनिन्, ‘हामीले परिषद्लाई डिजिटाइजेसनमा लैजाने भनेका छौँ। त्यसमा जानका निम्ति निर्णय भएका छन्। बोलपत्र आह्वान गर्ने निर्णय गरेका छौँ। त्यसलाई अगाडि बढाउन लाग्नुस्।’

समाज कल्याण परिषद्लाई नयाँ ढंगले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताइन्।

जति सक्दो सहज र छिटोछरितो तवरले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने अपरिहार्यता रहेको उनको भनाइ थियो। परिषद्को संरचनागत सुधारका निम्ति अगाडि बढ्न पनि उनले निर्देशन दिइन्। ‘अहिलेको आवश्यकताअनुसार प्रादेशिक संरचनामा जान जरुरी छ। त्यसरी जाँदा परिषद्को सेवा ग्रासरुटसम्म पुग्छ, मन्त्री चौधरीको भनाइ थियो, ‘परिषद्को संरचनागत सुधारका लागि अगाडि बढ्नुस्, त्यसका लागि यहाँहरूलाई म सहयोग गर्न तयार छु।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका कार्यहरू विधिमम्मत र सहज रूपमा अगाडि बढाउन पनि उनले जोड दिइन्।

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार १२:१६