मोबाईल व्यवसायीको आक्रोश : जेठपछि अब कुरिँदैन ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मोबाईल व्यवसायीको आक्रोश : जेठपछि अब कुरिँदैन !

सुदूरपीश्चम प्रदेश अध्यक्षमा सुरेश सापकोटा



कैलाली । नेपाल मोबाईल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले पटक-पटक सरकारसँग व्यवसायीका मागका विषयमा ध्यानाकर्षण गराएपनि व्यवसायिक वातावरण बन्न नसकेको भन्दै अब देशव्यापी जागरणको आवश्यकता रहेको बताएका छन् । महासंघको सुदूरपश्चिम प्रदेश कमिटि गठन गर्न धनगढी पुगेका अध्यक्ष भट्टराईले आफुहरु जेठ २५ गतेपछि ‘पर्ख र हेर’ को अवस्था नरहने बताएका हुन् ।

देशभरका २२ हजार भन्दा बढी व्यवसायीका प्रतिनिधिहरुको उपस्थितीमा महासंघले भव्य रूपमा जेठ २५ गते दोश्रो महाधिवेशन काठमाडौंमा गर्दैछ । अध्यक्ष भट्टराईले राज्यसँग व्यवसायीक वातावरण र सुरक्षाको मात्रै माग गरेको बताए । उनले ग्रे मोबाईल नियन्त्रण नगर्ने, सानातिना विषयमा व्यवसायीलाई अनावश्यक झण्झट दिने र आयातकर्ताको चरम शोषणमा परेका बेला तिनैको प्रभावमा परेर सरकारले स्वरोजगार व्यवसायीमा माग बेवास्ता गर्नुलाई महासंघले सामान्य रुपमा नलिएको बताए ।

सुदूरपीश्चम प्रदेश अध्यक्षमा सुरेश सापकोटा

नेपाल मोबाईल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा सुरेश सापकोटा चयन भएका छन् । धनगढीमा शनिवार भएको भेलाले प्रथम उपाध्यक्षमा गंगाप्रसाद निरौला, द्धितीय उपाध्यक्षमा सुरेश पाठक, महासचिवमा सुरेश बम, सचिवमा दिपक भट्ट, कोषाध्यक्षमा हिमाल लम्साल र सह कोषाध्यक्षमा रगमान रावल चुनेको छ।

त्यस्तै, प्रदेश कमिटी सदस्यमा धर्मराज जोशी (कञ्चनपुर), गणेश बोगटी (कैलाली), ठानसिंह महत (दार्चुला), पवन प्रसाद पन्त (कैलाली), उमेश चौधरी (अछाम), चन्द्रसिंह धामी (कैलाली), सन्तोष बोहरा (कैलाली) रहेका छन् । कार्यसमिति सदस्यमा नविन भट्ट (बैतडी), उमेश बढु (कैलाली), दिपक जाग्री (बझाङ), सन्तोष भट्ट (डँडेल्धुरा), कमल बुढा (बाजुरा), सन्तोष जोशी डँडेल्धुरा, संगम रावल (बाजुरा) चयन भएका छन् ।

राज्यको ४० अर्ब भन्दा बढीको राजश्वको स्रोत रहेको मोबाईल व्यवसायमा आबद्धहरुको छाता संस्था मोबाईल व्यवसायी महासंघ सात वटै प्रदेश र ६६ जिल्लामा सक्रिय रहेको छ । मोबाईल व्यवसायबाट ५ लाख बढी आश्रित रहेको महासंघले जनाएको छ । प्रदेश कमिटी गठन गर्न केन्द्रबाट अध्यक्ष भरत भट्टराईसँगै केन्द्रीय सदस्य ङेमा लामा समेत धनगढी पुगेका थिए ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार ११:४१