ओभरसाइड एजेन्सीहरु असाध्यै धेरै भए,लगानी निरुत्साहित भयोः अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

ओभरसाइड एजेन्सीहरु असाध्यै धेरै भए,लगानी निरुत्साहित भयोः अध्यक्ष ढकाल



काठमाडाैं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी बजेटमार्फत् वर्ष २०८१ देखि २०९० सम्मलाई लगानी दशकको रुपमा मनाउन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि बजेट छलफल’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

घोनेपालका दुई छिमेकी मुलुकहरु विश्वकै शीर्ष अर्थतन्त्र बन्ने होडबाजीमा रहेका बेला नेपालले पनि आफूलाई सँगसँगै विकासको रफ्तारमा लैजान लगानी बढाउनु पर्ने उनको भनाइ थियो ।

ढकालले अर्थमन्त्री वर्षमान पुनसँग भने, ‘कम्तिमा १०० जनालाई रोजगारी दिने उद्योगलाई नयाँ बजेटले विशेष कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।’ उनले नेपालमा निगरानी गर्ने संस्थाहरु (ओभरसाइट एजेन्सी) धेरै भएकाले लगानीको वातावरण बन्न नसकेको बताए ।

‘नेपालमा ओभरसाइड एजेन्सीहरु असाध्यै धेरै भए । उनीहरुलाई आफ्नो काम देखाउनुपर्ने दबाब पनि भयो’, उनले थपे, ‘त्यस्ता धेरै संस्थाहरुले कार्यप्रगति देखाउने सिलसिलामा अनेक अवरोध सिर्जना हुँदा लगानी निरुत्साहित भइरहेको छ ।’

हालैमात्र सरकारले लगानी सम्मेलन गरे पनि त्यसबाट अपेक्षित मात्रामा प्रतिबद्धताहरु प्राप्त हुन नसकेको भनेर आलोचना खेपेको थियो । लगानी आकर्षित गर्ने भन्दै एकसाथ ९ ओटा कानून संशोधन पनि गरेको अवस्थामा निजी क्षेत्र भने लगानी बढाउने हालतमा नभएको उनले बताए ।

साथै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको अवस्था डरलाग्दो हुँदै गएको उनले बताए । चैतको वासलात प्रकाशन हुँदा अधिकतर बैंकहरुको अवस्था खराब देखिएको र त्यसलाई सुधार गर्ने गरी नीतिगत सम्बोनध हुन नसके ठूलो जोखिम निम्तिने उनको भनाइ छ ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार १३:२३