सहकारीले संकलित पुँजीलाई उचित परिचालन गरेनन् : रजिष्ट्रार घिमिरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीले संकलित पुँजीलाई उचित परिचालन गरेनन् : रजिष्ट्रार घिमिरे



काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पूँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन ।

नियमाकीय दृष्टिकोणमाः ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्ष समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए । लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रुपमा गर्नुपर्ने उनको भनाई छ । सहकारी क्षेत्रलाई समाजवादउन्मुख अर्थतन्त्र निमार्णको लागि सशक्त आधारशिलाको रुपमा स्थापना गर्नको लागि संबिधानले नै अंगिकार गरेको छ । तर अहिले सहकारीमा धेरै समस्या छन् । नीतिगत तथा संस्थागत संरचनामा समस्याहरु धेरै देखिएको उनको बुझाई छ ।

‘सहकारी मार्फत आर्थिक समृद्धिको सम्भावना प्रसस्तै छ । अर्र्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ । मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिव ४ प्रतिशत योगदान छ । ९३ हजार ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ । तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ’ उनले भने ।

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा बहन नगर्ने , बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासिनता , संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गरे ।

कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विना धितो कर्जा प्रवाह, कर्जा वर्गिकरणमा प्रभावकारीता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए ।

समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिवद्ध हुदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रुपमा आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरुक सदस्यहरुले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ ।

उक्त टिप्पणीकर्ताको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिना धिता ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए ।

अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता दिने प्रकृया रोक्नु पर्छ । यसरी दर्ता भएका सहकारी संस्थाहरुले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उनको भनाई छ ।
त्यस्तै अधिकांश सहकारी संस्थाहरुको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ । ’

कार्यक्रममा सहभागिबाट हरेक सहकारी प्रकृति फरक भएपनि मूख्यत कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाई छ । सात वर्ष पहिले ऐनमा गरको व्यस्था कर्जा असुलि न्यायधिकण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उनले औंल्याए । त्यसैगरी, उक्त प्रस्तुतीको सहजकताकोे रुपमा राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्क्ष रमेश पोखरेलले गरेका थिए ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार १२:५३