ब्रोकर कमिशन घटाउन अर्थ मन्त्रालयले दियो स्वीकृति, यस्तो छ नयाँ दर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ब्रोकर कमिशन घटाउन अर्थ मन्त्रालयले दियो स्वीकृति, यस्तो छ नयाँ दर



काठमाडौं । अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको छ । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन बोर्डलाई स्वीकृति प्रदान गरेका हुन् ।

धितोपत्र बोर्डको २०८० कार्तिक १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा १० प्रतिशत घटाउने निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। जस अनुसार सेयर कारोबारमा अधिकतम ब्रोकर कमिशनको माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कमिशन लाग्दै आएको छ । बोर्डको सिफारिसमा मन्त्रालयले दिएको स्वीकृति अनुसार अब माथिल्लो सीमालाई ०.३६ प्रतिशत र तल्लो सीमालाई ०.२४३ प्रतिशतमा झारिएको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार देखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क तोकिएको छ ।

त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.३० प्रतिशत र एक करोड रुपैयाँमाथि ०.२७ प्रतिशतसम्म कमिसन लाग्दै आएको छ । अर्थमन्त्रालयले बोर्डको प्रस्ताव स्वीकृत गरेसँगै अब ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०३०६ प्रतिशत कमिशन शुल्क लाग्ने भएको छ । यस्तै २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.२७ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिशन लाग्नेछ ।

रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदै उनले कमिशन घटाउने निर्णय गरेर मन्त्रालयमा स्वीकृतिको लागि पठाउने निर्णय गरेका थिए। लामो समयपछि अर्थ मन्त्रालयले घटेको ब्रोकर कमिशन कार्यान्वयनको लागि बाटो खोलिदिएको हो ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार ११:१७