कर्णाली डेभलपमेन्ट बैंककाे नाफामा उछाल, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्णाली डेभलपमेन्ट बैंककाे नाफामा उछाल, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा उछाल आएको छ । बैंकको चालु आवको तेस्रो त्रैमाससम्ममा खुद नाफा ६६.१८ प्रतिशतले बढेर दुई करोड ८८ लाख रुपैंया पुगेको छ। अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकको खुद नाफा एक करोड ७३ लाख रुपैयाँमा सीमित थियो ।

खुद नाफा बढेपनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले तेस्रो त्रैमाससम्म आठ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको १० करोड १९ लाखको तुलनामा १८.४६ प्रतिशतले कम हो ।

बैंकको खुद सञ्चालन आम्दानी भने बढेको छ । बैंकको खुद सञ्चालन आम्दानी ११.४६ प्रतिशतले वृद्धि हुँदै ११ करोड पाँच लाख रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च चार करोड ३५ लाख र अन्य सञ्चालन खर्च तीन करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज दुई करोड १२ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको खराब कर्जा अनुपात ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।

तेस्रो त्रैमाससम्म बैंकले चार अर्ब ६८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । यो अवधिसम्म बैंकले तीन अर्ब ४० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा दुई करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

यस्तै बैंकको रिटेन्ड अर्निङ दुई करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको अकार भने छ करोड ८७ लाखबाट घटेर पाँच करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.४५ रुपैयाँ रहेको ईपीएस बढेर ५.७३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १०५.७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 22 April, 2024 11:32 am