गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थ राजनीति

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस



काठमाडौँ । प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैरसंवैधानिक भएको नेपाली कांग्रेसको ठहर छ।

प्रवक्ता प्रकाशशरण महतले दुई प्रदेशमा सरकार गठनका सवालमा भएका क्रियाकलापप्रति विमति जाहेर गरेका हुन्।

उनले भने, ‘प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैयाप्रति नेपाली कांग्रेस घोर आपत्ति प्रकट गर्दछ।’ यसबीच गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले संविधान र सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको उनको भनाइ छ।

२०८० चैत्र २५ गते प्रदेश सरकारमा भएको नियुक्ति गैरकानूनी एवं त्रुटिपूर्ण भनी सर्वोच्च अदालतमा दायर भएको रिटमा यसको टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका कुनै पनि निर्णय नगर्नु÷नगराउनु भनी सम्मानित सर्वोच्च अदालतले चैत्र २८ गते आदेश गरेको थियो ।

रिटको पूर्ण सुनुवाई २०८१ वैशाख १० मा तोकिसकिएको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकार दुबैबाट अदालतको अवहेलना गर्ने काम भएको कांग्रेसको भनाइ छ।

‘सर्वोच्च अदालतमा विचारधीन मुद्दाको अवज्ञा गर्दै प्रदेश सभाको अधिवेशन बोलाइनु गैर कानूनी एवं सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत छ । यसरी गैर संवैधानिक ढंगमा बोलाइएको बैठकमा नेपाली कांग्रेस प्रतिपक्षको हैसियतमा उपस्थित हुन नसक्ने प्रष्ट गर्न चाहन्छ, कांग्रेसले अगाडि भनेको छ,

‘सरकारको नियुक्तिकै क्रममा पार्टी सदस्यबाट राजीनामा गरिसकेको तथा तटस्थ भूमिका निर्वाह गर्नु पर्ने सभामुख समेतको हस्ताक्षरलाई मान्यता दिएर मुख्य मन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय यस अघि कोशी प्रदेश सरकार गठनका क्रममा सर्वोच्च अदालतबाट भएको फैसला विपरीत रहेको कांग्रेसको दाबी छ।’

सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८ (२) बमोजिम संविधानसम्मत् गरिएको दावीलाई खारेज गरी प्रदेश प्रमुखबाट वदनियतपूर्ण ढंगमा फेरि सरकार आह्वान गर्नु असंवैधानिक कदमका रुपमा कांग्रेसले चित्रण गरेको छ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १७:४१